बाँके फगुन ५ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा शनिवारदेखि महिला स्वास्थ्य शिविर सुरु भएको छ । वडा कार्यालयको सहयोग तथा जनसेवा फार्मेसीको आयोजनामा दुई दिने शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा खासगरी महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेकजाँच गरिएको वडा अध्यक्ष गोपाल पुनले बताए । पहिलो दिन शनिवार २३६ जनाले सेवा लिएका छन् । तीमध्ये १० जनामा पोजेटिभ देखिएको पनि वडा अध्यक्ष पुनले बताए । उनका अनुसार पछिल्लो समय महिलाहरुमा क्यान्सरको समस्या भयावह बन्दै गएको भन्दै स्वास्थ्य चेकजाँच गर्न सुझाव दिए ।केही दिन अघि क्यान्सरकै कारण वडामा कार्यरत एक जना महिला कर्मचारी गुमाउनु परेको स्मरण गरेका उनले आफ्नो स्वास्थ्यबारे सचेत रहन आग्रह गरे । वडा नं.४ ले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ । उनले स्वास्थ्यमा स्थानीयको सहज पहुँच स्थापनाका लागि वडा चनाखो रहेको बताए ।उनले केही दिनपछि वृहत स्वास्थ्य शिविरको तयारीमा वडा कार्यालय रहेको पनि जानकारी दिए । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रपनि आफ्नै वडामा रहेकाले नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । उक्त सहरी केन्द्रमा एमडी फिजिसियन सहितको ल्याव सेवा रहेको छ ।
Discussion about this post