बाँके फागुन १९ गते ।
नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) उद्घाटनमै सीमित भएको छ । उद्घाटनको नौ महिना पुगिसक्दा समेत संचालनमा आउन सकेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको आइसिपी अझै सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका वेला दुई देशका मालवाहक गाडी वारपार गराइयो ।
दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आइसिपी छिट्टै नियमित सञ्चालन गर्ने उद्घोषसमेत गरे ।
आइसिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुसियाली मनाए । तर, उद्घाटन भएको नौ महिना वित्दासमेत सञ्चालन अनिश्चित भएको छ । आइसिपी सञ्चालन कहिलेदेखि हुन्छ भन्ने निश्चित नभएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले बताए । उनले आइसिपीभित्र निर्माण भएका भौतिक संरचना हस्तान्तरणको कामसमेत हुन नसकेको बताए । आइसिपी नेपालगन्ज र भारतको रुपइडियामा अवस्थित छ ।
नेपालतिर ८७ बिघामा फैलिएको आइसीपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल तथा गुणस्तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण भएको छ ।
Discussion about this post