सुर्खेत चैत १८ गते ।
सुर्खेत जिल्ला वीरेन्द्रनगरका थारू समुदायले सिकलसेल रोगको समस्या भोगिरहेका छन् । तथापि, थारू समुदायमा सिकलसेलको बृहत् परीक्षण हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरमा थारू समुदायको संख्या सात हजारभन्दा बढी छ ।
सिकलसेल सामुदायिक अनुसन्धान केन्द्र सुर्खेत जिल्ला संयोजक डिलबहादुर चौधरीका अनुसार गत आर्थिक वर्षमा वीरेन्द्रनगरका ७३५ जनाको सिकलसेल परीक्षण गराइएको थियो । उक्त परीक्षणमा ७० जना सिकलसेल पोजेटिभ देखिएका थिए । त्यसअघि एक हजार ३०२ जनामा गरिएको परीक्षणबाट ३१३ जनामा सिकलसेल पोजेटिभ देखिएको थियो । सबैको स्वास्थ्य परीक्षण गराउँदा यो संख्या अझै बढ्न सक्ने बताइन्छ ।
सिकलसेल पीडित रामकृष्ण चौधरीका अनुसार सिकलसेल पीडितले ठुलो भारी उठाउन सक्दैन । कतिबेला बिरामी परिन्छ थाहै हुँदैन । अचानक बिरामी हुँदा निकै कठिन हुन्छ । स्थानीय सङ्गीता पनि सिकलसेल पोजेटिभ हुन् । उनी पनि घरबाट टाढा जान डराउँछि । उनले भनिन्, “म धेरै टाढासम्म जाँदिन ।
हिँडडुलमा पनि अझ बढी समस्या छ । सिकलसेलकै कारण हड्डीमा असर पुगेपछि मेरो दाहिने गोडाको जोर्नीमा रड राखिएको छ ।” चिकित्सकका अनुसार बिरामीको रगतमा सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ । दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डिस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्ने जस्ता यो रोगका मुख्य लक्षण हुन् ।
Discussion about this post