बाँके चैत २५ गते ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको प्रवेशद्वार सँगै पर्यटन सूचना केन्द्र रहेको छ । प्रदेश सरकार मातहत रहेको सूचना केन्द्रमा सेवाग्राही शुन्य प्रायः हुने गरेको छ ।
अध्यागमन जस्तै कामविहीन उक्त कार्यालयमा पर्यटक लागि सूचना दिने कुनै सामाग्री राखेको पाइँदैन । जमुनाह नाका भारत तथा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिदा उनीहरूलाई सूचना केन्द्र मार्फत जानकारी लिन सहज हुनसक्छ । तर, सूचना केन्द्रमा कुनै त्यस्तो जानकारी रहेको पाइँदैन । फाट्टफुट्ट आउने भारतीय नागरिक सूचना केन्द्र छिरिहाले मौखिक रूपमा नै कर्मचारीले जानकारी दिने गरेका छन् ।
औपचारिकताका लागि मात्रै पर्यटन सूचना केन्द्र सञ्चालन गरिएको जस्तो त्यहाँ पुग्दा जो कोहीले अनुभव गर्न सक्छन् । देश सरकारले पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, बिस्तार प्रवद्र्धन तथा संरक्षण र पर्यटन सेवा सुविधा बिस्तार गर्न समन्वय तथा सहजीकरण गर्न पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद् सञ्चालनमा ल्याएको हो ।
परिषद्ले पर्यटक तथ्यांक संकलन र अभिलेखिकरण गर्ने, जनशक्ति विकास गर्ने, आवश्यक नयाँ जनशक्ति तयार गर्ने र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने लगायतका कार्य गर्ने भएपनि जमुनाह स्थित सूचना केन्द्र गतिविधिको कुनै सूचना पाइँदैन । नेपालको बाँके भारत उत्तर प्रदेश सँग जोडिएको जिल्ला हो ।
धार्मिक पर्यटकहरू उल्लेख्य मात्रामा भारतबाट दैनिक जसो नेपाल आउँछन् । काठमाडौं स्थिति पशुपतिनाथ देखि मानसरोवर जानेहरूले समेत यो रुटका प्रयोग गर्छन्। तर, पर्यटन सूचना केन्द्रमा भारतीय धार्मिक तथा घुम्न आउने पर्यटक जानकारी लिन पुगेको पाइँदैन । दुई जना करार कर्मचारी मात्रै रहेको जमुनाह नाकाको पर्यटन सूचना केन्द्र कामविहीन जस्तो देखिन्छ ।
नेपाल प्रवेशको द्वारमै पर्यटन सूचना केन्द्रको कार्यालय रहेपनि मेटिएको बोर्डका कारण पनि नेपाल भित्रिने पर्यटकले सूचना लिन त्यहाँ नपुगेको हुनसक्ने अनुमान गरिन्छ । सीमित जनशक्ति र सानो ठाउँमा सञ्चालित सूचना केन्द्रबारे नेपाल भित्रिने पर्यटकले जानकारी पाउने अवस्था नै देखिंदैन ।
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताए । ‘सूचना केन्द्र क्रियाशिल भएको भए कोहलपुर पुगेपछि रुट परमिट चाहिन्छ भन्ने कोहलपुर पुगेपछि थाहा पाउँदैन थिए’, उनले सीमानामा पर्यटन प्रहरीको समेत आवश्यकता औंल्याउँदै भने, ‘सीमामा पर्यटन प्रहरी भए अझ सजिलो हुन्थ्यो ।’
Discussion about this post