बाँके चैत २६ गते ।
नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।
भारतीय नागरिकलाई नेपालगन्जको प्रसिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरसम्म ल्याउन र नेपालगन्जदेखि भारतको अयोध्यास्थित राम मन्दिरसम्म नेपालीहरूलाई सहज रूपमा दर्शन गराउन प्रचारप्रसार गर्ने उद्देश्यले सो साइकल यात्रा गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष गगन थापाले बताए ।
उनले सो यात्रामा नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष राजेश गुप्ताको नेतृत्वमा ६ सदस्यीय साइकल टोली साइकलमै अयोध्यास्थित राम मन्दिर पुगेको बताए । नेपालगन्जको वागेश्वरी मन्दिरबाट यात्रा सुरु गरेर सो टोली भारतको अयोध्यास्थित राम मन्दिरसम्म पुगेको छ । टोलीलाई पहिलो चरणमा बागेश्वरी मन्दिरबाट बिदाइ गरिएको थियो भने दोस्रो चरणमा नेपाल भारत नाका जमुनाहाबाट बिदाइ गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष थापाले बताए ।
उनले जमुनाहा नाकामा बिदाईका क्रममा क्लबका साईकलिस्टहरूको टोलीलाई भारतको बाबागन्जसम्म स्कटिङ्ग गरेर पु¥याइएको बताए । नेपालगन्जदेखि अयोध्याको दुरी १८० किमी छ । नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष गुप्ताको नेतृत्वमा अयोध्या गएको टोलीमा क्लबका सदस्यहरू बाबुराम विश्वकर्मा, पुष्पराज न्यौपाने, प्रदीप बाहुन, विवेक यादव र रोहित चौहान सहभागी छन् । टोलीले अयोध्यामा पुगेर बागेश्वरी मन्दिरको महत्त्व बारे त्यहाँका सन्त महन्त लगायत अगुवा व्यक्ति र संस्थाहरूलाई जानकारी गराउने काम गरिरहेको क्लबका पूर्व अध्यक्ष थापाले बताए ।
नेपालगन्ज–अयोध्या साइकल यात्राले दुवै ठाउँबिच धार्मिक पर्यटनको विकासमा ठुलो टेवा पु¥याउने विश्वास गरिएको नेपालगन्ज पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले भारतीय धार्मिक पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गर्ने योजना बनाएर काम गर्न सके त्यसबाट देशकै आर्थिक अवस्था बलियो हुने बताए । नेपालगन्ज साइक्लिङ्ग क्लबले पर्यटनको विकासका लागि टुर दी ठाकुरद्वारा लगायत विभिन्न धार्मिक र ऐतिहासिक महत्वका स्थानहरूसम्म साइकल यात्राको आयोजना गर्दै आएको क्लबले जनाएको छ ।
Discussion about this post