काठमाडौं बैशाख २० गते ।
शनिबारदेखि मौसममा केही बदली सुरु हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली भित्रिदा शनिबारबाट बदली हुने भएको हो । पश्चिमी न्यूनचापीय प्रणाली नेपालको पश्चिमी भू–भाग हुँदै नेपाल प्रवेश गर्नेछ ।
“भोलिबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सर्ने देखिएको छ । यो नेपाल आइपुग्दा शनिबार नै हुन्छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “त्यसैले शनिबारबाट नेपालमा बदली सुरु हुनेछ । तर यसले पनि देशभर ठूलो वर्षा गराउँदैन ।”
उनका अनुसार पहाडी भू–भागमा यो प्रणालीले हल्का वर्षा मात्रै गराउनेछ । त्यसपछि यो प्रणाली कमजोर हुनेछ ।
पश्चिम र पूर्वी नेपालका पहाडी भू–भागमा हल्का वर्षा गराए पनि पुनः केही दिनमा मौसम पुरानै अवस्थामा फर्किनेछ । शुक्रबार भने हिजो र आजभन्दा पनि मौसम ‘क्लियर’ (बदली नहुने) हुनेछ । यसैबीच, पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
Discussion about this post