बाँके बैशाख २२ गते ।
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको अन्तर्राष्ट्रिय मापदण्डको देशकै ठुलो पौडी पोखरी मध्यको पौडी पोखरीमा अहिले पौडी खेल्न पुग्नेहरू दिनदिनै बढ्दै गएका छन् ।
अत्यधिक गर्मी र तातो हावा ‘लू’ बाट जोगिन पौडी पोखरीमा पुग्नेहरू बढ्दै गएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले गर्मी अत्यधिक बढेपछि गर्मी छल्न पौडी पोखरीमा आउनेहरू बढ्दै गएकाले उनीहरूसँग न्यूनतम शुल्क लिने गरेको बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएको सो पौडी पोखरीलाई अहिले व्यावसायिक रूपले सञ्चालन गर्न थालिएको जनाउँदै कार्यालय प्रमुख चन्दले यहाँ आउनेहरू थपिँदै गएको बताए । राष्ट्रिय खेलकुद परिषद्ले पौडी खेल्नका लागि सर्वसाधारण नागरिकलाई (स्विमिङ कस्टम)बाहेक प्रतिव्यक्ति दुई सय रुपियाँ, राष्ट्रिय खेलाडीलाई सय रुपियाँ तथा सामूहिक रूपमा आउने विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय खेलाडीलाई भने निःशुल्क व्यवस्था गरिएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगन्जस्थित कार्यालयका अनुसार गर्मी छल्नका लागि रङ्गशालामा अहिले दैनिक दुई सय जनाको हाराहारीमा पौडी खेल्न आउने गरेका छन् । हरेक दिन बिहान ८ देखि बेलुका ७ बजेसम्म पौडी पोखरी सञ्चालन भइरहेको छ । पौडी खेल्नका लागि विभिन्न विद्यालयका विद्यार्थीहरू आउने क्रम पनि बढेको छ ।
विद्यार्थीलाई पौडी खेलाउन केही विद्यालयले सम्झौता गरेका छन्, भने कतिपयले सम्झौता गर्ने क्रममा छन् । सरकारी पौडी पोखरी भएकाले होटलमा जस्तो यहाँ सर्वसाधारणले महँगो शुल्क तिर्नु पर्दैन । पौडी पोखरी सञ्चालन गर्नका लागि दुई जना प्रशिक्षकसहित चार जना कर्मचारीलाई खटाइएको जनाइएको छ ।
Discussion about this post