बाँके जेठ १ गते ।
फेसबुके प्रमुख जिल्ला अधिकारीको रुपमा चिनिएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल यतिखेर चर्चामा छन् । जिल्ला प्रशासनको फेसबुक पेजमा स्टाटस लेखेर आफ्नो प्रचारबाजी गर्दै आएका सिडिओ पोखरेल एकाएक गुमनाम भएपछि उनी किन काठमाडौँ तानिए भन्दै बाँकेमा चर्चाको विषय बनेको छ । भगौडा शैलीमा काठमाडौँ गएका उनी उतै हराएका छन् ।
भगौडा शैलीमा काठमाडौँ गएका उनी गायब भएपछि बाँकेबासी आश्चर्य चकित परेका छन् । उनले आफू काठमाडौँ जाँदा कसैलाई निमित्त दिन समेत भ्यानन् । एक कर्मचारीले भने, ‘सिडिओ साव एकाएक काठमाडौँ गएर उतै रोकिएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारी अन्योलमा छौँ ।’
सिडिओ पोखरेलले कसैलाई निमित्त नदिएपछि गृह मन्त्रालयले मौखिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । पोखरेलले सिडिओले प्रयोग गर्ने सरकारी मोवाइल फोन सुरक्षागार्डलाई थम्याएका थिए ।
सिडिओ कार्यालयका एक कर्मचारीका अनुसार पोखरेलले बुधबार विहान साढे १० बजेतिर सुरक्षागार्डसहित सोझै राँझा एयरपोर्ट पुगेका थिए । त्यहाँबाट उनी काठमाडौँका लागि उड्दै गर्दा ‘यो मोबाइल माझी सरलाई दिनू’ भन्दै सिडिओले प्रयोग गर्ने मोबाइल सुरक्षागार्डलाई थमाएका थिए । सुरक्षागार्डले मोवाइल फोन बुझाएपछिमात्र सहायक प्रमुख जिल्ला अधिकारी माझीले सिडिओ पोखरेल काठमाडौँ गएको जानकारी पाएका थिए ।
लिखित जिम्मेवारी नपाएका माझीले वरिष्ठताका आधारमा निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
सिडिओ पोखरेल पछिल्लो समय जिल्लामा निकै विवादित बन्दै आएका थिए । करिब ७ महिनाअघि बाँकेमा प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै उनी एकपछि अर्को विवादमा मुछिँदै गएका थिए । सामाजिक सञ्जालहरूमार्फत स्टन्टबाजी गर्दै आएका पोखरेलले यहाँस्थित सञ्चारकर्मीहरूलाई समेत बेवास्ता गर्दै आएका थिए ।
सञ्चारकर्मीले सूचना माग्न फोन गर्दा उनले जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा छ त्यहिँबाट लिनु भन्दै थर्काउँथे । उनले विशेष कामका लागि जिल्ला प्रशासन कार्यालय पुगेका सर्वसाधारणलाई समेत थर्काउने र अपमान गर्दै आएका थिए ।
Discussion about this post