बाँके असार १६ गते ।
राप्तीसोनारी गाउँपालिकाले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने भएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको गाउँपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई बढाई पालिकालाई आर्थिकरुपमा सम्बृद्ध बनाउनका लागि जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिले पालिकाको अर्थतन्त्रमै नकारात्मक असर पर्याएको निष्कर्ष निकालेर नीतिगत सुधारको आवश्यकता औल्याइएको पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । उनले कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरणलाई जोड दिइएको पनि उल्लेख गरे ।
उनले भने–‘कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गरिनेछ । र, उत्पादन बढाउन कृषकलाई विभिन्न अनुदानका प्याकेजहरु ल्याइनेछ ।’ मल वीउ विजन र सिंचाइँका लागि मोटर वितरण गर्दै कृषि क्षेत्रको सम्बृद्धिका लागि पहल गरिने पनि उल्लेख गरिएको छ । ‘कृषकलाई मल, बीउ, कृषि सामाग्री र कृषि सिंचाइँ मोटर वितरण गरिने छ उनले भने–‘कृषकका उत्पादनको संकलन तथा भण्डारणको लागि हाडबजार प्रवर्धन केन्द्र स्थापना गरिने छ ।
’उनले वडा नं।९ मा गाउँपालिका स्तरीय तरकारी तथा फलफुल संकलन तथा विक्री केन्द्र स्थापना गरिने पनि बताए । पालिकाले कृषि तथा पशुपंछीको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि दुई करोड ६२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष मनिषा सिंह थारुले जानकारी दिइन् । उनले राप्तीसोनारी गाउँपालिका वडा नं।४ मा भेटेरीनरी अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग सहकार्य गरिने बताइन् । उनले भनिन्–‘पशु स्वास्थ्य सेवालाई समुदायस्तरमा पुर्याउन कम्तीमा ३ वटा शिविर संचालन गरिनेछ ।’ उनले पशुपालक किसानलाई उच्च प्राथमिकता दिइएको बताइन् ।
राप्तीसोनारी गाउँपालिका पशुपालनमा राम्रो सम्भावना बोकेको पालिका हो । पर्याप्त चरिचरणका कारण यहाँ व्यवसायिक पशुपालन गर्ने किसान धेरै छन् । ‘पशुपालन कार्यलाई व्यवसायका रुपमा स्थापित गरि नागरिकको आयस्तरमा वृद्धि गरिने छ उनले भनिन–‘दुध तथा मासुमा राप्तीसोनारीलाई आत्मनिर्भर बनाई निकासी पैठारीलाई प्रवर्धन गरिनेछ ।’
पालिका अध्यक्ष पौडेलले पनि कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको बताए । कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती संचालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधि मैत्री कार्यक्रम संचालन गर्ने, वडा नं।२, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रमले जोड दिएको छ ।
Discussion about this post