बाँके असार १७ गते ।
बाँकेको दुर्गम र अति नै पिछडिएको मानिने नरैनापुर गाउँपालिकाका अधिकांश जनताले अझै पनि राम्रो उपचार सेवा पाउन निःशुल्क स्वास्थ्य शिविर नै कुरेर बस्नुपर्ने बाध्यता छ । गाउँपालिकामा रहेको अस्पताल र स्वास्थ्य केन्द्रहरूले स्तरीय सेवा नदिँदा पालिकाका अधिकांश जनताले कि त रोग लुकाएर बस्नुपरेको छ कि बेला बेलामा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू कुरेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
नेपाली सेनाको श्री बज्र दल गणद्वारा नरैनापुरमा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुगेका अधिकांश बिरामीले आर्थिक अभाव र सेवा अभावले उपचारबाट वञ्चित हुनु परेको गुनासो गरे । निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिने थाहा पाएपछि एक घण्टा पैदलयात्रा गरेर शिविरमा पुग्नुभएकी नरैनापुर गाँउपालिका–६ की ७० वर्षीया निशादर पठानिनले स्थानीयस्तरमा स्तरीय उपचार पाउन नसक्दा यस्तै शिविर कुरेर बस्नुको विकल्प नरहेको बताइन ।
उनले लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले पीडित भए पनि स्थानीयस्तरमा उपचार नपाएको तथा नेपालगन्ज जाने पैसा नभएकाले रोग पालेर बस्नु परेको दुःखेसो सुनाइन । सोही प्रकारले नरैनापुर–५ का नसिम खाँले आर्थिक अभावले लामो समयदेखि उपचार गराउन नसकेको जनाउँदै बेला बेलामा हुने निःशुल्क शिविर कुरेर बस्ने अनि त्यसमै गएर स्वास्थ्य जाँच गराउने गरिएको बताए । उनले यदि बेला बेलामा यस्ता शिविर नहुने हो भने नरैनापुरका धेरै बासिन्दाले उपचार नै नपाउने अवस्था रहेको बताए ।
यो दुःखेसो नरैनापुरका पठानिन र खाँको मात्र नभई सो पालिकाका अधिकांश गरिब र विपन्नको हो । उनिहरूले नरैनापुरमै स्थायी रूपमा राम्रो र स्तरीय उपचार सेवा पाउने व्यवस्था गरिनुपर्ने माग गर्दै भवन मात्र बनाएर नहुने भएकाले उपकरण र राम्रा चिकित्सक पनि आवश्यक रहेको बताएका छन । नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर राखेको थाहा पाएर ठुलो सङ्ख्यामा स्थानीयहरू टाढा टाढाबाट गर्मीको समेत पर्वाह नगरी सेवा लिन बाएका सेनाको बज्र दल गणका गणपति रविन श्रेष्ठले बताए । उनले सो शिविरमा ६७० जनाले स्वास्थ्य उपचार गराएर निःशुल्क औषधी लिएर लाभान्वित भएको बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वास्थ्य उपचारको क्षेत्रमा अहिले पहिलेको जस्तो जटिल अवस्था नरहेको तर आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभावले खोजेको जस्तो उपचार दिन नसकिएको बताए । उनले त्यसका लागि सम्बन्धित निकायसँग पटक पटक माग गरिएको बताए ।
Discussion about this post