बाँके असार २८ गते ।
गृह प्रशासनका अधिकारीहरू फेरबदल हुनु नियमित प्रक्रिया हो । गृह प्रशासनका अधिकारी तथा कर्मचारी फेरिए पनि तर कहिलै नफेरिने धन्दा हो ‘तस्करी’ । बाँकेमा नयाँ जिल्ला प्रहरी प्रमुख हाजिर भएपछि तस्करी केही समय सुस्ताएको देखिन्छ । प्रहरी प्रमुखसँग सेटिङ नमिलेपछि सुस्ताउने गरेको तस्करी सेटिङ मिल्ने वित्तिकै फस्टाउने आकर्षक धन्दाा बनेको छ ‘तस्करी’ ।
यहाँबाट सेटिङमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, गाडीका पार्टपूर्जा, दाल, चामल, लागूऔषध, कपडा लगायतका सामान तस्करी भएर नेपालगन्जसँगै देशका विभिन्न जिल्लामा पुग्छ । नेपाल–भारत खुला सिामानाकाको फाइदा उठाउँदै बाँकेमा तस्करी गर्नेहरुको ठूलो जमात छ । तस्करले एक्लै सामान नेपाल–भारत छिराउन सक्ने कुरै आउँदैन । यसमा नाका र जिल्लाका सुरक्षा प्रमुखको पनि हात रहन्छ । तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी मुक दर्शक बनिदिँदा तस्करी बढेको प्रत्यक्षदर्शी बताउँछन् ।
सीमादेखि नेपालगन्ज बजारसम्म घुमुवा प्रहरी, सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा सीमा क्षेत्रमा तस्करहरू सल्बलाएका छन्,’ ति प्रत्यक्षर्शीले भने, ‘दिउँसै नम्बर प्लेट बिनाको मोटरसाइकल तस्करीका सामान बोकेर निस्फ्रिक्रीका साथ प्रहरी पोष्ट पार गर्नुले ‘सेटिङ’ छ भन्ने प्रस्ट हुन्छ ।’ बाँकेमा नेपाल–भारतको ६५ किलो मिटरमा दर्जनभन्दा बढी सशस्त प्रहरीको बिओपी छन् । उक्त बिओपीले प्रत्येक पाँच सय मिटर दूरीमा सहायक पोष्ट राखेर ड्यूटी गर्दै आएका छन् ।
तर सीमामा खटिएका सशस्त्र प्रहरीको काम डण्डा लिएर उभिने बाहेक केहि हुन सकेको छैन । ‘आम सर्वसाधारणलाई देखाउनका लागि मात्र सशस्त्र प्रहरीले सीमामा ड्यूटी गर्दै आएको स्थानीय बताउँछन् । ‘घुमुवा प्रहरी र भन्सारको भर पाएपछि तस्करलाई के को डर हुनु’, सीमा नाकामा घर भएका एक प्रत्यक्षदर्शी भन्छन्, ‘नियन्त्रणकारी निकायले नै आँखा बन्द गरिदिएपछि बाँकीले देखेर के नै गर्न सकिन्छ । ट्वाल्ल परेर हेर्नु बाहेक कुनै सीप चल्दैन ।’
जिल्लास्थित राजस्व चुहावट नियन्त्रण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छन् । एक महिनामा एक पटक यस समितिको बैठक बस्ने प्रावधान छ । भन्सार कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकमा राजस्व चुहावट र राजस्व वृद्धि गर्ने विषयमा गहन छलफल समेत हुन्छ । तस्करी नियन्त्रणका लागि जिम्मेवारी पाएका अधिकारीहरुले आफ्नो गोजी भराउने खेलमा लागेपछि नेपालगन्ज भन्सार कार्यालयका राजस्व उकालो लाग्नुको साटो झन–झन् ओरालो लाग्दै गएको तथ्यांकले देखाउँछ ।
चुहावट अर्थात् तस्करी नै राजस्व घट्नुको प्रमुख कारण रहेको छ । सीमा वारपार गर्ने प्रशस्त बाटो छन् । यी बाटोमा सुरक्षाकर्मी तैनाथ हुन्छन्, तर यहि बाटो भएर तस्करले सामान ओसार पसार गरिरहेका छन् । ‘तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको उत्तिकै भूमिका रहन्छ, तर यहाँ नियन्त्रणको जिम्मेवारी पाएका सवै अधिकारी तैँ चुप मै चुप बस्दा तस्करी मौलाएको छ,’ एक स्थानीयले भने ।
भारतीय नम्बर प्लेट र बिना नम्बर प्लेटका मोटरसाइकलमा राखेर बाँकेकोे बिभिन्न सिमानाकाबाट दिनदहाडै तस्करी हुँदासमेत सुरक्षा निकायका प्रमुखहरु थाहा नपाएको भान गरिरहेका छन् । ‘एउटा मोटरसाइकलमा कम्तिमा कपडाका २ वटा बोरा लोड गरी तस्करका भरियाहरु नाकाबाट हाकाहाकी विभिन्न सुरक्षा पोष्ट पार गर्दै नेपालगन्ज स्थित तस्करको गोदाममा पुरयाउँछन् । भारतबाट गोदामसम्म पु¥याए वापत भरियाले तस्करसँग एक पटकको एकदेखि दुई हजार रुपैयाँ पाउँछन् । यस कार्यमा सीमादेखि बजारसम्मका सयौं युवा भरियाको रुपमा प्रयोग भइरहेका छन् ।
बाँकेको सीमा नाकाबाट तस्करी हुने गरेको छ । नेपाल–भारत सीमा अन्तरगत बाँकेको नरैनापुर, खडैचा, भज्जुपुर्वा, हिरमिनिया, कालाबन्जार, जमुनाह, जयसपुर, इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाकामा तस्करको रजाइँ छ ।
यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । हिरमिनिया, कालाबन्जार, साइगाउँ प्रहरी चौकी, जयसपुर विओपी, सशस्त्र प्रहरी बढैया विओपीलगायतको सेटिङमै अहिले व्यापक तस्करी भइरहेको स्थानीय बताउँछन् । यी नाकाबाट बोइलर कुखुरा, चल्ला, प्याज, आलु, कपडा, मोटरपार्टस्, लत्ताकपडा, चिनी, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) कस्मेटिक्सलगायत दैनिक उपभोग्य बस्तु तस्करी राजस्व छली गरी भित्रिन्छ । वारिबाट सुपारी, मेगा श्री गुट्खा, मदिरा, जडिबुटी, मटर, हुक्काको फ्लेवर, ग्याँस लाइटर, कबाड पारि पु¥याइन्छ । यी सहितको सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक छ । तस्करीका लागि यी सुरक्षित नाका मानिन्छन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा लाइन मिलाएर यहाँ तस्करको राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्करको राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन् ।
सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि तस्करले अन्धाधुन्ध सामान ढुवानी सुरु गर्छन् । सीमादेखि नेपालगञ्जसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् । सीमादेखि नेपालगन्जसम्मका प्रहरीसँग तस्कर नमिल्ने हो भने भन्सार राजस्व छलेर सामान वारपार गर्ने आँट कसैको आउँदैन । पछिल्लो समय बाँकेका बिभिन्न सीमा नाकामा तस्करी बढिरहेको घटनाक्रमबाट पुष्टि हुन्छ । सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाएको सीमा क्षेत्रवासी बताउँछन् ।
तस्करलाई लाइनमा ल्याउन घुमुवा प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको देखाउँछ । लाइन मिलेपछि तै चुप मै चुप हुने गरेको स्थानीयको भनाइछ । सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका सादा पोशाकका घुमुवा प्रहरी सीमा क्षेत्र र नेपालगन्ज बजारमा अखाडा बनाएर तस्करसँग लाइन मिलाउँछन् ।
सीमाबाट नेपालगन्जका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले गस्ती गर्छन् । घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारीमा फर्काइने गरिएको छ । तत्कालिन एसपी सुभाष चन्द्र बोहोराकै पालादेखि तस्करी थप मौलाएको जानकारहरु बताउँछन् । त्यतिबेलाका घुमुवा प्रहरी विवादित बनेपछि बीचमा हटाइएपनि अहिले फेरी त्यही जिम्मेवारीका साथ काममा फर्किएका छन् । उनीहरुको ध्यान फेरी असुली धन्दामै केन्द्रीत भएको छ ।
गृह मन्त्रालय र आइजिपीको निर्देशन विपरीत घुमुवा खटाउने प्रवृत्ति जिल्लामा रोकिएको छैन ।
भारतसँग जोडिएको पश्चिम नेपालको अति व्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी गर्न सहज भएपछि अन्य जिल्लाबाट समेत तस्करहरु नेपालगन्ज आउने गरेका छन् । तस्करहरूले भन्सार कर्मचारी, सुरक्षाकर्मी र घुमुवा लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्दै आएका छन् ।
तस्करसँग लाइन लिएकै कारण प्रहरी, प्रशासन मौन बस्ने गरेको आरोप लाग्दै आएको छ । भारतबाट त्यसरी अवैध रुपमा भित्रिने सामानले नेपालगन्ज, कोहलपुर लगायत बजारमा ‘वैधता’ पाउने गरेको छ । ती सामान व्यापारीमार्फत उपभोक्ताको हातमा सजिलै पुग्ने गरेको छ ।
नाकामा खटिने भन्सार कर्मचारी र सुरक्षाकर्मीले ठुलो परिमाणमा भित्रिने ती सामानलाई आफैले गन्तव्यसम्म पु¥याउन सहयोग गर्दै आएका छन् । ‘भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमै तस्करहरूले भारतबाट एकै पटक लाखौं÷करोडौं मूल्यका सामान भित्र्याइन्छ,’ एक प्रत्यक्षदर्शीले भने, ‘तस्करहरुले भन्सार महसुल नबुझाएर त्यस बापतको रकम कर्मचारी र सुरक्षाकर्मीलाई बाँड्छन् । यो राम्रो भएन । यसले राज्यको राजस्वमा असर परिरहेको छ ।’
स्रोतका अनुसार नेपाल–भारत सिमानाका नेपालगन्ज हुँदै तस्करहरुले ट्रक र कन्टेनरमार्फत अवैध सामान नेपालगन्ज भित्र्याउने गरेका छन् । बाँके प्रहरीले पछिल्लो समयमा बरामद गरिरहेको सामानको प्रकृति हेर्दा शिल प्याक गरिएका ती सामानहरू ट्रक र कन्टेनरमार्फत भित्रिएको प्रमाणित भएको छ । नेपालगन्जमा ठुलो परिमाणमा बरामद गरिएको लत्ताकपडा ट्रक र कन्टेनरबाट आएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । ‘यो लत्ताकपडा कुनै सामान्य मान्छेले क्यारिङ गरेर ल्याएकै होइन, क्यारिङ गरेर ल्याएको सामान मज्जाले चिनिन्छ,’ स्रोतले भन्यो ‘यो सामानको प्रकृति हेर्दा सिधै ट्रक र कन्टेनरबाट आएको हो भन्ने प्रमाणित हुन्छ । यसरी सामान ल्याउन तस्करहरुका लागि सहज भएको छ ।’ पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएका सामानको प्रकृति एउटै खालको भएको प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरीका घुमुवा बरिस्ठ हवल्दार दिनेश तिवारीको कमाण्डमा खटिएको टोली र जिल्ला प्रहरी कार्यालयबाट अतिस खानको कमाण्डमा पाँच जना प्रहरी घुमुवाको रुपमा खटिएका छन् ।
यो टोलीले तस्करहरुबाट महिनावारी रुपैयाँ असुल्दै आएको बुझिएको छ । ‘एक जना तस्करबाट मासिक एकदेखि दुई लाख रुपैयाँसम्म असुलेको प्रमाण छ,’ तस्कर मध्येका एक जनाले भने ।
Discussion about this post