बाँके साउन १० गते ।
साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ ।
पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताए । सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उनको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिए ।
बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख शकिल अहमदले जानकारी दिए ।
बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।
Discussion about this post