बाँके साउन २३ गते ।
बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ ।
सोसियल अवेयरनेस फर एजुकेसनल (सेफ) नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय कर्जा लिएको पाइएको बताउनुभयो ।
उहाँले संस्थाको प्रतिनिधि बन्दै सुकलालले २०७५ साल असार २१ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ (हाल ६), फुल्टेक्राको एकता नगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कट्ठा जग्गा २७ लाख रुपियाँमा बिक्री गर्नुभएको हो । बर्दिया पाताभार–२ की ४६ वर्षीय रिना बादीलाई राजीनामा गरिदिएको मालपोत कार्यालय बाँकेको राजीनामापत्रमा उल्लेख छ । रिना बादी सुकलालकी श्रीमती हुनुहुन्छ । २७ लाख रुपियाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा आएको नदेखिएको अध्यक्ष नेपालीले बताउनुभयो ।
भूमि सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय नेपालगन्ज बाँकेको राजीनामामा रजिस्ट्रेसन नं. १४÷क मा संस्था (सेफ) को चलानी नं. ९३ मिति २०७५÷३÷२१ को संस्थाका प्रतिनिधि (सुकलाल नेपाली) खटाई २७ लाख रुपियाँमा मिति २०७५ जेठ २ गतेको संस्थाको माइन्युट, चलानी नम्बर ११८४२, २०७४ वैशाख २० गते चुक्ता प्रमाणित तथा २०७५ वैशाख १६ गते २०७४÷७५ सालको तिरो तिरेको नम्बर ९१५६ को रसिद नम्बर उल्लेख गरिएको छ । साक्षीमा सुर्खेत छिन्छु–७ बस्ने जिउली बादी, बाँके नेपालगन्ज–१३ का हेमन्त सिंह साउद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेका छन् । उल्लेखित जग्गामा घर नभएको तथा बाटो पनि नभएको बेहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकि उक्त जग्गामा दुईतले भवन पहिलेदेखि नै निर्माण भएको थियो भने बाटो पनि थियो ।
२०७५ जेठ २ गते बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको देखिएको छ । तर सो निर्णयमा पनि अधिकांश किर्ते हस्ताक्षर रहेको पाइएको वर्तमान अध्यक्ष नेपालीले बताउनुभयो । उहाँका अनुसार संस्थाले हालै पाएको एक परियोजनाका लागि दातृ निकायले माग गरेको घर जग्गाको लालपुर्जालगायतका कागजपत्र खोज्ने क्रममा संस्थाको जग्गा पाँच वर्षअघि नै बिक्री भइसकेको खुलासा भएको हो । संस्थाको जग्गा किर्ते हस्ताक्षर गरेर आफ्नी श्रीमतीको नाममा बिक्री गर्ने सुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार ठगीको मुद्दा दर्ता गराइएको अध्यक्ष नेपालीले बताउनुभयो । समुदायका अगुवाको सुझाव अनुसार सोमबार नै जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गराउनेबारेमा दबाब दिइएको सेफ नेपालले जनाएको छ । गोरखापत्र अनलाइन
Discussion about this post