काठमाडौं साउन ३२ गते ।
देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैबीच, पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी, बागलुङ, पर्वतमा वर्षा भएको छ ।
गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।
विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने निस्ती खोला लगायत अन्य स–साना खोलामा बहाव केही बढ्नसक्ने बताएको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।
Discussion about this post