बाँके भदौ २ गते ।
नेपालगन्ज रंगशालामा निर्माण भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उक्किएको छ । त्यसबारे खलकुद विकास समितिले माथिल्लो निकायमा जानकारी गराइसकेको बताएका छन् ।
साविक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक उक्किएको बारे राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी दिइसकेको बताए । ‘मैले दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडीले प्रशिक्षण गर्न पाउनुपर्छ भनेर निरीक्षण गर्ने क्रममा यसबारे थाहा पाए’, उनले भने, ‘अब माथिबाट विज्ञ टोली आएर छानबिन गरेपछि के हो, किन यस्तो भयो, नेपालभरी नै यस्तो भएको थिएन, नेपालगन्जको पहिलो घटना हो, कच्चा पदार्थ नै कमसल पर्यो कि रु त्यो विज्ञहरूले भन्ने कुरा हो ।’
चन्दले कार्य सम्पन्न भएको एक बर्षसम्म निर्माण कम्पनीको जिम्मा हुने बताउँदै अब निर्माण कम्पनीले विज्ञ टोली ल्याएर कसरी पुनः निर्माण गर्ने भन्ने टुंगो लगाउनु पर्ने बताए । सेन्थेटिक ट्रयाक निर्माणका लागि सन् २०२३ मा करिब १० करोड लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ५ जनवरी २०२४ मा ठेक्का अवधी सकिएको हो ।
बाँकेमा आठौं राष्ट्रिय खेलकुद सञ्चालनमा आउँदा धेरै खेल पूर्वाधार बनेपनि तिनको प्रयोग नभएको भन्दै आलोचना हुने गरेको छ । खेल पूर्वाधारको स्वामित्व र संरक्षणका सवालमा समेत विवाद पटकपटक सार्वजनिक हुँदै आएको छ ।
Discussion about this post