दाङ भदौ १२ गते ।
राप्ती नदीमा विगतदेखि नै भइरहेको अव्यवस्थित उत्खननले दाङको देउखुरीका सिँचाइ आयोजना जोखिममा पर्न थालेका छन् । राप्ती नदीको पानीलाई आधार बनाएर प्रगन्ना कुलो सिँचाइ आयोजना सञ्चालनमा छ ।
नयाँ आयोजनाका रूपमा बड्कापथ सिँचाइ आयोजना राप्ती नदीको बायाँ किनारमा निर्माणाधीन छ । प्रगन्ना कुलो सिँचाइ आयोजनाले देउखुरी उपत्यकाको उत्तरी क्षेत्रलाई सिञ्चित गर्दै आइरहेको छ । बड्कापथले गढवा गाउँपालिकाभित्र पर्ने साबिकका तीन गाविसमा पर्ने चार हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । बर्सेनि राप्ती नदी दोहन भइरहने हो भने यी आयोजनालाई पानी अपुग हुने देखिन्छ ।
वर्षामा सिँचाइ गर्न स्थानीय ठाडाखोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिँचाइ गर्न वर्षाको पानीमा भर पर्नुपर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन । पाँच हजार आठ सय हेक्टर जमिनमा सिँचाइ पु¥याउँदै आएको प्रगन्ना सिँचाइ आयोजना पानीका लागि राप्ती नदीमै भर पर्नु पर्छ ।
नदीको सतह गहिरिँदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको हो । पटक पटक राप्ती नदीको सिँचाइ आयोजनाको बाँध आसपासमा उत्खनन नगर्न आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो यहाँका किसानको छ । प्रगन्ना जल उपभोक्ता मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले यही रफ्तारमा राप्ती नदी उत्खनन गर्दै जाने हो भने केही वर्षमा सिँचाइ योजना अलपत्र पर्ने र नदीको सतह गहिरो हुने बताए । उनले भने, “नदीबाट कुलो खनेर पानी ल्याउनुपर्ने बाध्यता छ, राप्तीमा उत्खनन गर्नु हुँदैन भनेर हामी बोलिरहेका छौँ ।
यसलाई वैज्ञानिक हिसाबले हल गर्नुपर्ने देखिएको छ ।” राप्ती नदीको पानीले सिँचाइ हुँदै आएका खेतबारी सुक्खा हुने हुन् कि भन्ने चिन्तामा स्थानीय किसान छन् । स्थानीय अगुवा किसान लोकमणि पौडेलले अव्यवस्थित उत्खननले नदीको सतह गहिरो भएका कारण पानीको समस्या थपिन थालेको बताए ।
Discussion about this post