बाँके भदौ १३ गते ।
लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको जमुनाहनाकामा बाँके प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ ।
बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह स्थित चेक प्वाईन्टबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बबई नगरपालिका-२ दाङ् बस्ने २४ वर्षीय दिपक बिकलाई पक्राउ गरेको हो ।
बिहिवार दिउँसो भारतको रुपैडियाबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा २९ ग्राम ८०० मिलि ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
उनले भारतबाट शंकास्पद अवस्थामा जुत्ताभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बिकलाई पक्राउ गरेको बताए ।
उनले भने,´लागुऔषध कारोबारीहरु अहिले बाँके प्रहरीको निशानामा परेका छन्। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रणमा चुनौती थपिएको उनले बताए।
पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post