दाङ भदौ २४ गते ।
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण गढवा–कालाकाटे हुलाकी सडक अलपत्र परेको छ । दाङको देउखुरीमा रहेको गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७९ कात्तिक मसान्तसम्म सकिनुपर्ने भए पनि दुई पटक म्याद थप हुँदा पनि आधा काम हुन सकेको छैन । आफ्नो कामप्रति निर्माण व्यवसायी जिम्मेवार नहुँदा पटक पटक ताकिता गर्दा पनि हुलाकी सडक निर्माणको आधा पनि काम हुन नसकेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।
हुलाकी सडकको २० किलोमिटर सडकमध्ये करिब पाँच किलोमिटर मात्र कालोपत्रे गरिएको छ । बाँकी सडकखण्डमा नाला निर्माण, ग्राभेल गर्ने, कतै ग्राभेल गर्नका लागि गिट्टी थुपार्ने काम गरिएको छ । जसले गर्दा सडकमा खाल्टाखुल्टीसँगै पानी जम्ने भएका कारण यातायातका साधन सञ्चालनदेखि स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार काम नगरेपछि ठेक्का तोड्न प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता भएको र निर्माण व्यवसायी अदालत जाँदा सडक निर्माणको काम झनै पछि धकेलिने भएका कारण तोड्न सकिएको छैन । आयोजना प्रमुख भण्डारीले भने, “निर्माण व्यवसायी अदालत जाँदा सडक निर्माणको काम थप पछि धकेलिने देखियो ।
त्यसैले गर्दा तत्काल ठेक्का तोड्नेभन्दा कामलाई कसरी अघि बढाउन सकिन्छ भनेर लागेका छौँ ।” भण्डारीका अनुसार अहिले निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् । सडक निर्माणको कामलाई जति सक्यो चाँडै अघि बढाउन निर्माण कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको आयोजना प्रमुख भण्डारीले बताए ।
Discussion about this post