बाँके असोज २५ गते ।
दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाह नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार असोज १ गतेदेखि हालसम्म चाडपर्व मनाउन जमुनाह नाका भएर दुई लाख ६९ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारी र अध्ययनका लागि भारतका विभिन्न ठुलठुला सहरमा गएका नेपालीहरू चाडपर्व मनाउन हुलका हुल स्वदेश फर्किएको बताए ।
उनले गत भदौदेखि नै चाडपर्व मनाउन नेपालीहरू देश फर्किने क्रम सुरु भए पनि असोज १ गतेबाट ठुलो सङ्ख्यामा फर्किएको बतााउँदै यो नाकाबाट दुई लाख ६९ हजार ३८६ जना नेपाली स्वदेश फर्किएको बताए ।
रिक्सा, ई रिक्सा, बस, हाइस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा नेपाल प्रहरीले सचेतना अभियान चलाउनुका साथै सहायता कक्ष पनि सञ्चालन गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बुढाथोकीले बताए ।
उनले चाडपर्व मनाउन स्वदेश फर्किनेलाई सहज रूपमा नाका पार गर्ने वातावरण बनाइएको बताउँदै त्यसका लागि सीमापारि भारतीय सुरक्षा नाकामा तैनाथ सुरक्षाकर्मीसँग पनि समन्वय गरिएको बताए ।
अन्य दिनमा राति १० बजे भारतले बन्द गर्नेे नेपाल–भारत नाका हाल दसैँ मनाउन आउनेलाई ध्यानमा राखेर राति ११ बजेसम्म पनि खुला राखेको इन्चार्ज बुढाथोकीले बताए ।
अहिले चाडपर्वका लागि स्वदेश फर्किरहेका नेपालीहरूको फर्किने क्रम दसैँ र सोपछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार चाडपर्व सकिएपछि फेरि भारत फर्किनेको लर्को नाकामा सुरु हुने छ ।
Discussion about this post