बाँके असोज ३० गते ।
गल्ने फोहोरबाट मल बनाउने र नगल्ने वस्तु बिक्री गरी आर्थिक उपार्जन गर्ने योजनासहित सञ्चालनमा आएको नेपालगन्जको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) ६ महिनामै बन्द भएको छ । प्रशोधन केन्द्रका मेसिन संचालन नहुँदा सड्ने र नसड्ने बस्तु एउटै खाल्डोमा फाल्दा ल्याण्डफिल साइट मात्र नभई आसपासका क्षेत्र समेत दुर्गन्धित बनेको छ ।
एसियाली विकास बैंक (एडिबी) को साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँमा फोहोर प्रशोधन केन्द्र निर्माण भएको हो । एक वर्षसम्म एडिवीले गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई प्रशोधन केन्द्रमा व्यवस्थापन गरे पनि त्यसपछि नेपालगन्ज उपमहानगरले एउटै ठाउँमा थुपार्दै आएको छ । गल्ने फोहोरबाट मल बनाउने र नगल्ने वस्तुलाई बिक्री गर्ने अवधारणाअनुसार सञ्चालन भएको यो ल्याण्डफिल साइटमा जडान भएका मेसिन बन्द छन् । २०७६ भदौमा उद्घाटन गरिएको प्रशोधन केन्द्रका मेसिन चैतदेखि बन्द रहेका छन् । मेसिन संचालनमा नआउँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।संचालनमा नआउँदा मजदुरहरु मेसिनमा आराम गर्दै आएका छन् ।
केन्द्रमा दैनिक २४ टन फोहोर भण्डारण गर्ने क्षमता छ । नेपालगन्जमा अहिले दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ । संकलन भएको फोहोरलाई प्रशोधन केन्द्रको चारवटा सेलमा राखेर कुहिने, नकुहिने र कडा खालका फोहोर छुट्याइने गर्ने मेसिन जडान भएका छन् ।
पहिलो चरणमा कुहिने खालको फोहोरबाट कम्पोस्ट मल तयार गर्ने योजना थियो । इँटा, ढुंगालगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्याप्ने योजनाका साथ निर्माण भए पनि अहिले कुहिने, नकुहिने (प्लास्टिक, इँटा, ढुंगा) छुट्याउने मेसिन सञ्चालनमा आउन सकेका छैनन् । जसले सबै फोहोर एउटै खाडलमा फाल्ने गरिएको छ ।
पहिले ५० जना कार्यरत प्रशोधन केन्द्रमा अहिले ३० जना कामदार छन् । एडिबीले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था समेत गरेको थियो । तर, यी महंगा गाडी समेत संचालनमा आएका छैनन् । ल्यान्डफिल साइटमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भए पनि मेसिन सञ्चालन नहुँदा जैविक फोहोर पनि डम्पिङ साइटमा पुर्ने गरिएको छ ।
कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्न नगरका हरेक घरमा बाल्टी र बोरा वितरण गरिएको छ । स्थानीयलाई कुहिने फोहोर संकलन गर्ने बाल्टी र नकुहिने फोहोरका लागि बोरा निःशुल्क बाँडिए पनि उक्त बस्तु प्रयोगमा आएका छैनन् । स्थानीय बासिन्दाले दुवै फोहोर मिसाइदिँदा समस्या भएको गुनासो गरेका छन् ।
फोहोर प्रशोधन केन्द्र १३ बिघा पाँच कठ्ठामा निर्माण भएको छ । यसमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने योजना थियो । ल्याण्डफिल साइट निर्माणअघि बिडिए नेपालले सन् २०१४ मा गरेको अध्ययनअनुसार नेपालगन्जको फोहोरमा सबैभन्दा बढी अर्गानिक (कुहिने) फोहोर ६९ दशमलव ५५ प्रतिशत भएको प्रतिवेदन तयार गरेको थियो ।
फोहोर वर्गीकरण गरी सड्नेबाट प्रांगारिक मल उत्पादन गरी बिक्री गर्ने र प्लास्टिक, फलामलगायत कवाडी सामान बेचेर भएको आम्दानीबाट प्रशोधन केन्द्रको सम्पूर्ण सञ्चालन खर्च व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो । यसको व्यवस्थापनका लागि मासिक कम्तीमा २७ लाख ५० हजार र वार्षिक तीन करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
फोहोर डम्पिङ गर्न चारवटा सेल (ठूला खाल्डो खनिएका) छन् । एउटाले कम्तीमा आठ वर्ष धान्ने लक्ष्य थियो । यो अवधिको डम्पिङको अवस्था हेर्दा एउटा खाल्डोले चार वर्ष पनि नथेग्ने देखिन्छ । चार वर्षमा एउटा खाल्डो भरिँदा १६ वर्षमै प्रशोधन केन्द्रका सबै खाल्डा भरिने भएको छ ।
ल्याण्डफिल साइटमा सिसा र प्लाष्टिकका बोत्तल यत्रतत्र फालिएका छन् भने फोहोर भण्डारण गर्न बनाइएको ठाउँमा दुर्गन्धले जान नसकिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका बातावरण तथा सरसफाई महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले कर्मचारी अभाव भएकै कारण मेसिन संचालनमा ल्याउन नसकिएको बताए । ल्याण्डफिल साइटलाई ब्यवस्थापन गर्न नसकेका उनले प्रवेश गर्न पत्रकारलाई समेत उपमहानगरको लिखित पत्र चाहिने बताउँदै आएका छन् ।
भित्र प्रवेश गर्दा जोखिम हुने दावी गर्दै अनुमति लिएर मात्र प्रवेश गर्न दिइने बताए । तर, उनले कस्तो जोखिम हो भन्ने खुलाएनन् । ल्याण्डफिल साइटको हवीगत बाहिर आउने डरले पत्रकारलाई भित्र जान नदिएको समाचार संकलनका लागि गएका पत्रकार बताउँछन् ।
समाचार संकलन गर्न गएका नयाँ पत्रिका दैनिकका बाँके सम्वादाता विश्वराज पछल्डङ्ग्या सहितका पत्रकारलाई त्यहाँ खटिएका कर्मचारीले अभद्र ब्यवहार गरेपछि नेपालगन्ज उपमहानगर बातावरण तथा सरसफाई महाशाखाको कर्तुत बाहिर आएको हो । वातावरण तथा सरसफाई महाशाखा प्रमुख डिसीले अनुमति लिएर मात्र पत्रकारलाई भित्र जान निर्देशन समेत दिएका छन् ।
Discussion about this post