बाँके कात्तिक ३ गते ।
चाडपर्वको अवसरमा जुवातासको घटना बढ्ने गरेको पाइएपछि बाँके प्रहरीले निगरानी बढाएको छ । जुवातासका नाममा कतिपय परिवारको उठिबासनै लाग्ने अवस्थाप्रति सजग बन्दै प्रहरीले निगरानी बढाएको हो ।
बाँकेका एसपी तुल बहादुर कार्कीका अनुसार कानुन वर्जित यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो छ । दशैं, तिहार, छठ लगायतका चाडपर्वमा मानिसहरुको जमघट हुने र यही मौकामा जुवातास समेत खेल्ने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचाननै गरेर निगरानी बढाएको एसपी कार्कीले अनलाइन खोजखवरलाई बताउँछन् ।
यही क्रममा प्रहरीले शुक्रबारराती नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१६ बस्ने बकरत अली, राजु कुरेसी, मुस्लिम राई, नन्कउ अन्सारी, बाबु अन्सारी, हुसेन , जगनाथ सोनी, रिजवान अन्सारी लगायत रहेका छन् । यसैगरी इसराईल अन्सारी, युनुस राई, राजु हलवाई, जगत बर्मा, नईम जोलाह, मकवुन अली जोलाह र समिम राईलाई पनि प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । उनीहरु खेतमा जुवा खेलिरहेको अवस्था पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट २९ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । जमुनाह प्रहरी र वडा प्रहरीको संयुक्त टोलिले शुक्रबारराती एक बजेतिर पक्राउ गर्न सफल भएको उनले बताए । जुवातास कसुरमा उनीहरुलाई आइतवार म्याद थप गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
नेपालगन्ज लगायतका क्षेत्रमा जुवा अड्डाको पहिचान गर्दै प्रहरीले निगरानीलाई सशक्त बनाएको जनाएको छ ।
Discussion about this post