बाँके कात्तिक १७ गते ।
देशको अधिकांश युवाहरु रोजगारीका लागि विदेश होमिन लागेका बेला केही युवाले अझै पनि आफ्नै देशमा रगत पसिना बगाएर काम गर्ने सोचका साथ जुटेका छन् ।
त्यस्ता युवामध्येका एक युवक हुनुहुन्छ बाँकेको जानकी गाउँपालिका वडा ४ का कमलबहादुर राना । रानाले विदेश जाने तयारी गरे पनि पछि सो सोच त्यागेर आफ्नै देशमा केही गर्ने ठान्नुभयो ।
उहाँले तीन वर्षअघि जानकी नहरचोक नजिकै आफनै १० कठ्ठा जमिनमा स्मृति ड्यागन फ्रुटको फर्म सञ्चालनमा ल्याई ड्रयागन फ्रुटको खेती गर्दै आउनुभएको छ । पछिल्लो समयमा नेपालका युवापुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरू भने कृषिमै भविष्य खोज्न थालेकाले उनीहरु सफल हुँदैगएको रानाले बताउनुभयो ।
करिब २२ लाखजति लगानीमा ड्रयागन खेती सुरु गरेको जनाउँदै उहाँले एक्लै समूहबाट ऋण लिएर धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रयागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको बताउनुभयो ।
ड्रयागन खेतीबाट गत तीन वर्षबाटै राम्रो आम्दानी हुँदैआएको जनाउँदै आफूलाई बजारको पनि समस्या नरहेको रानाले बताउनुभयो । उहाँले अधिकांशले फर्ममै आएर ड्रयागन खरिद गर्ने गरेको र कोहलपुर तथा नेपालगन्जमा राम्रो माग रहेको बताउनुभयो । बजारको माग बमोजिम ड्रयागन उत्पादन गर्न नसकेको रानाको भनाइ छ ।
सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तिनै तहको सरकारबाट आफूलाई कुनै पनि सहयोग नभएको उहाँको भनाइ छ । ड्रयागन खेतीको पेशा एकदमै राम्रो र बाह्रमासै हुने हुनाले सो खेती युवालाई विदेश जानबाट रोक्ने एक राम्रो माध्यम बन्न सक्ने बताउनुभयो ।
रानाको ड्रयागन फर्ममा ड्रयागन खरिद गर्न पुग्नु भएका नेपालगन्जका अनिश श्रेष्ठले जानकीमा ड्रयागन फ्रुट बजारमाभन्दा सस्तो र ताजा पनि पाइने भन्ने सुनेर आएको जनाउँदै सोचेभन्दा राम्रो र ताजा पाएको बताउनुभयो ।
उता, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कृषि पेशामा लागेका र लाग्न चाहने पालिकाका युवालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा कृषिको विशेष योजना बनाएको बताउनुभयो । उहाँले कृषिमा लागेका जानकीका किसानको सुविधाका लागि विजुलीको तार र पोल आफ्नै पालिकाबाट व्यवस्था गरेको बताउनुभयो ।
Discussion about this post