बाँके मंसिर २४ गते ।
चिसो छल्नका लागि गोबरगुइँठाको प्रयोग बढ्दै गएको छ । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबरगुइँठाको प्रयोग बढ्दै गएको हो ।
ग्रामीण भेगका गरिब तथा न्यून आयवर्गले खाना पकाउनका लागि चुुलो बाल्न वैकल्पिक ऊर्जाका रूपमा गोबरगुइँठाको प्रयोग गर्दै आइरहेकोमा अहिले आगो ताप्न माग बढ्दै गएको बाँकेको डुडुवा १ का राम अहिरले बताए ।
ग्यासमा खाना पकाउँदै आइरहेका कतिपय महिलाले पनि अहिले दाउरा तथा गोबरगुइँठाको प्रयोग गर्नु परेको डुडुवा ६ की लक्ष्मी कुर्मीले बताइन् । उनले सहज रूपले दाउरा पनि नपाउने गरेको तथा दाउरा पाए पनि चर्को मूल्य तिरेर खरिद गर्न समस्या हुने गरेकाले गुइँठाप्रति आकर्षण बढेको बताइन् ।
गोबरगुइँठाले खाना पकाउने तथा आगो पनि ताप्ने उद्देश्यले गाउँघरका महिला गुइँठा बनाउनमा व्यस्त रहने गरेका छन् । ग्यासमा खाना पकाउँदै आएका महिला अहिले जाडो छल्न गुइँठाले चुलो बाल्न बाध्य भएको स्थानीय सावित्री वर्माले बताइन् ।
Discussion about this post