बर्दिया पुस ३ गते ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका विभिन्न गाउँबस्तीमा वन्यजन्तु घरमा छिरेर खाद्यान्नलगायतका अन्नमा क्षति पु¥याउन थालेपछि खाद्यान्न जोगाउन विभिन्न उपाय अपनाउन थालिएको छ । केही ठाउँमा वन्यजन्तुको पहुँच नहुने गरी अग्लो सामूहिक अन्नभण्डार निर्माण पनि गर्न थालिएको छ ।बर्दियाको खाता जैविकमार्गमा वन्यजन्तुबाट खाद्यान्न जोगाउन मधुवन नगरपालिका–१, पत्थरबोझीमा सामूहिक अग्लो अन्नभण्डार भवन निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालय, उज्यालो नेपाल, मधुवन नगरपालिका र स्थानीयको श्रमदान गरी करिब १३ लाख रुपियाँमा सो भवन निर्माण गरिएको मधुवन नगरपालिका–१ का वडा सदस्य धनीराम थारूले बताए । किसानसमेत रहेका वडा सदस्य थारूले ९० प्रतिशत कच्ची घर रहेका पत्थरबोझीमा हात्तीले घर भत्काएर किसानले जम्मा गरेको खाद्यान्नमा नोक्सान पु¥याउन थालेपछि यहाँ अग्लो पक्की भवन निर्माण गरिएको बताए ।
मधुवन नगरपालिका र उज्यालो नेपालको सहयोगमा उक्त भवन निर्माण गरिएपछि त्यहाँका किसानले धान, गहुँ, तोरीलगायतका खाद्यान्न ल्याएर उक्त भवनमा राख्न थालेका छन् । करिब ३० हजार किलो अन्नभण्डार क्षमताको सो अन्नभण्डार भवन निर्माण भएपछि सो क्षेत्रका किसान लाभान्वित हुन थालेको उज्यालो नेपालका जिल्ला अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार सो भवनको माथिल्लो तलामा अन्नभण्डार छ भने तल्लो तलामा कुटानीपिसानी मिल रहेको छ ।
हात्तीबाट प्रभावित किसानले सो भवनमा अन्नभण्डार गर्न थालेका छन् । अन्नभण्डार भवन निर्माण भएपछि किसानले भित्र्याएको अन्नको सुरक्षा हुनुका साथै जिउधनको क्षति रोकिएको मधुवन नगरपालिका–१ का किसान एवं वडा सदस्य थारूले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविकमार्गमा पर्ने पत्थरबोझी गाउँ भएर अधिकांश वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् । चालु आवमा सो ठाउँका करिब एक दर्जन घर हात्तीले भत्काएर क्षति पु¥याएको छ ।
Discussion about this post