बाँके पुस १० गते ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं–२ बेतहनीको एक घरमा गएराती डकैती भएको छ । बेतहनीका सन्तोष सोनीको घरमा गएराती (मंगलबार) ११ बजेको समयमा २५ जनाको समूहमा आएका भारतीय डाँकाहरुले लाखौंको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन् । सोनीले उक्त घरमा कृष्णगोपाल ज्वेलर्स संचालन गरेका छन् ।
उनीहरुले सोनीको घरबाट करिब १३ लाख बराबरको धनमाल लुटेर लगेको पीडित सोनीले बताए । हतियारसहित आएका डाँकाले पुरुषहरुको हात बाँधेर घरको खानतलासी गरेर गरगहना लगायतका सामान लुटेका हुन् । घर पछाडीबाट छिरेका डाँकाहरुको समूहमध्ये १५ जना घरभित्र पसेको र अन्य १० जना बाहिर बसेर पहरा दिएको पीडितले बताए ।
दुई जना किशोरी, तीन जना किशोरसहित आठ जना रहेको परिवारमा कसैलाई केही नगरेपनि परिवारका पाका व्यक्तिहरुको हात बाँधेर डाँकाहरूले लुटपाट गरेका थिए ।पाँच सय मिटरकै दुरीमा रहेको प्रहरीलाई डाँकाहरुले लुटपाट गरेको भनेर सम्पर्क गर्दा फोन नउठाएको पीडित सोनीले बताए । बारम्बार फोन गर्दा पनि प्रहरीले फोन नठाएको भन्दै पीडितले डकैतीमा प्रहरीसमेतको मिलोमतो रहेको आशंका गरेका छन् ।
डाँका समूहले पेस्तोल, कट्टा लगायतका हातहतियार देखएर लुटपाट गरेको आरोप पीडित परिवारको छ । ’हातहतियार देखाएर करिब १३ लाख रुपैयाँ लगे– सोनिले भने–’डाँका समूहले ज्यान मार्ने धम्की समेत दिएको छ । उता जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान भैरहेको जनाएको छ । अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरी स्रोतले जनाएको छ।
Discussion about this post