बाँके पुस २४ गते ।
बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बाँके जिल्लाको जनजीवन कष्टकर भएको छ । विशेषगरी मंगलवार बिहानदेखि पुनः बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
मंगलवारदेखि शितलहर समेत सुरु भएपछि जनजीवन थप प्रभावित भएको छ । तीनचार दिन अघि देखिनै बाँकेमा घाम लाग्न छाडेपनि सोमवार भने दिनभरी घाम लागेको थियो ।
मंगलवार विहानदेखि भने शितलहर सुरु भएको छ । चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको संख्यामा कमी आएको छ भने अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेका छन् । साथै चिसोले बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । यसैगरी, चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको छ । जाडोले ग्रसित भएका बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि अस्पताल आउने गरेकोे भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
उपचारका लागि अस्पताल आउने बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया तथा युवा वृद्धाहरुमा दम खोकीलगायतका बिरामीहरुमा बढी आउने गरेको स्थानीय अस्पतालहरुले जनाएका छन । चिसो छल्न बिना काम घर बाहिर ननिस्कन, उनी कपडा, कम्बल तथा आगो ताप्न सर्वसधारणलाई आग्रह गर्दै चिकित्सकहरुले तातो पानीको सेवनसँगै पोषिलो तथा ताजा खान खान सल्लाह दिएका छन् ।
यसैगरी दिनानुदिन बढ्दै गएको चिसोबाट सर्वसाधारणलाई जोगाउन बजारिया क्षेत्र तथा नगरक्षेत्रभित्र आगो ताप्न दाउराको व्यवस्था मिलाउन ८ वटै पालिकासँग स्थानीयबासीहरुले आग्रह गरेका छन् ।
Discussion about this post