रुकुम माघ ५ गते ।
रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सचेतनाका लागि ‘मोबाइल भ्यान’ प्रयोग गरिएको छ । ‘मोबाइल भ्यान’ अर्थात् घुम्ती गाडीमा भिडियो सामग्री प्रदर्शनीमार्फत विपत्पश्चात्को पुनर्निर्माण, सुरक्षित आवास, कार्यस्थलमा हुने यौनजन्य शोषण र दुव्र्यवहारविरुद्ध प्रभावितलाई जानकारी गराइएको हो ।
बेलायती राजदूतावास (एफसिडिओ) को सहयोगमा जाजरकोट र रुकुमपश्चिममा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आइओएमले ग्रामीण युवा सरोकार केन्द्रमार्फत जाजरकोट र रुकुमपश्चिमका १३ वटा पालिकामा स्वयंसेवक परिचालन गरेर मोबाइल भ्यान कार्यक्रम सञ्चालन गरेको हो ।
आइओएमका इन्जिनियर चन्द्र अधिकारीले पिकअप गाडीमा ठुलो साइजको टेलिभिजन सेट राखेर दुवै जिल्लाका बढी प्रभावित टोलमा सचेतामूलक भिडियो सामग्री प्रदर्शन गरिएको बताए । उनले विपत्का बेला भिडियो सामग्रीमार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी भएको बताए । घरबासविहीन भएका तथा विपत्तको पीडाले तनाव झेलिरहेका प्रभावितलाई भिडियो प्रदर्शनी मनोरञ्जन र सचेतनाको गतिलो माध्यम भएको बताइएको छ ।
भिडियो सामग्री पुनर्निर्माण, सुरक्षित आवास निर्माण, वातावरणमैत्री सिएसइबी इँटा, यौनशोषण र दुव्र्यवहारविरुद्ध सन्देशका विषयमा केन्द्रित रहेको थियो । टोल टोलमा भिडियो देखाउने गाडी पुगेपछि प्रभावित झुम्मिने गरेको, भिडियो सामग्रीमा अस्पष्ट भएका कुरा सोध्ने गरेको, विभिन्न स्थानमा भिडियो प्रदर्शनीको माग भएकोसमेत इन्जिनियर अधिकारीले बताए । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१० की शारदा खड्का ओलीले गाडीमा देखाएको भिडियोपछि विपत् जतिबेला पनि आउन सक्ने भएकाले सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षित घर बनाउनुपर्ने कुरा सिकेको बताइन् ।
उनले प्रभावित व्यक्तिलाई लोभलालच देखाएर यौनशोषण गर्न सक्ने सम्भावना भएकाले सबै सचेत हुनुपर्ने सन्देशसमेत जानकारी भएको जनाइन् । ग्रामीण युवा सरोकार केन्द्रका टिम लिडर माधव चन्दले पछिल्लो दुई महिना जाजरकोटका सात वटा र रुकुमपश्चिमका छ वटा पालिकमा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । चन्दका अनुसार आइओएमको अगुवाइमा जाजरकोटमा ३५ स्थान र रुकुमपश्चिमका ३० स्थानमा मोबाइल भ्यान कार्यक्रम सम्पन्न गरिएको छ ।
Discussion about this post