बाँके माघ २७ गते ।
बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको वैकुण्ठधाम निर्माण समितिका संयोजक डा.सुरेशकुमार कनोडियाले बताए ।
उनका अनुसार १ बिघा ६ कठ्ठा १६ धुर जग्गा ७ जना स्थानीयसँग खरिद गरी नामसारी गरिसकिएको छ । करिब १ करोड १० लाख ८० हजार मूल्य बराबरको जग्गा खरिद गरिएको संयोजक कनोडियाले जानकारी दिए । डिपिआर अझै पूर्णरुपमा तयार भइनसकेको हुँदा जग्गाको आवश्यकता अझै बढ्न सक्ने वैकुण्ठधाम निर्माण समितिले जनाएको छ ।
जग्गा खरिद गरिएपछि संघीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको हो । संघीय सरकारले वैकुण्ठधाम निर्माणका लागि तीन करोड रुपियाँ खर्च गर्न लागेको जनाइएको छ । डुडुवा ५ सिधनियाघाटमा सुविधासम्पन्न आधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने जनाउँदै आयोजक वैकुण्ठधाम सिधनियाघाट निर्माण समितिले नेपालगन्जमा आध्यात्मिक महोत्सव सञ्चालन गरेको थियो ।
गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपियाँ सङ्कलन भएको थियो । जसमा ७५ लाख सात हजार ३७७ रुपियाँ खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो । संयोजक कनोडियाका अनुसार धामलाई स्तरोन्नति गर्दै विद्युतीय दाहसंस्कार गर्नेगरी धाम निर्माण गर्ने योजना छ ।
Discussion about this post