बाँके माघ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा रहेको दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको गुपचुप नेतृत्व चयन गरिएपछि तीब्र असन्तुष्टि देखिएको छ ।
गएको माघ १ गते गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको छ । स्थानीय प्रशासनले गएको जेठ २८ गते सोमवार दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति भंग गरेको थियो ।
करिब ८ वर्ष लामो समितिले जनताको भावना अनुसार काम गर्न नसकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले समिति भंग गरि तीन महिनाभित्र नयाँ समिति गठन गर्न निर्देशन दिएको थियो ।
स्थानीय प्रशासनको निर्देशनपछि सरोकारवालाले त्यसैदिन नेपालगन्ज उपमहानगरपालिका ३ निवासी समेत रहेका वडा अध्यक्ष अय्युब सिद्दिकीलाई तर्दथ समितिको संयोजक बनाएका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले तीन महिनाभित्र संस्था नवीकरण र साधरणसभाबाट नयाँ नेतृत्व गठन गरी जानकारी गराउन निर्देशन दिएपनि राजनीतिक स्वार्थ समुहको दवावमा तर्दथ समितिका संयोजक सिद्धिकीलाई समेत थाहा नदिएर गुपचुप ज्याउल हक हलवाईको अध्यक्षतामा समिति बनाइएपछि अहिले चर्को बिरोध भएको छ ।
दारुल उलूम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा १ हजार ९ सय २७ जना सदस्य रहेका छन् । तर राजनीतिक दवाव र प्रभावमा अधिकांश सदस्यहरुलाई साधारणसभाबारे थाहा नदिएर आफु अनुकूलका केही व्यक्तिहरुलाई मात्रै साधारणसभामा बोलाएर हलवाईलाई अध्यक्ष बनाइएको भन्दै साधारण सदस्यहरुले तत्काल गुपचुप समिति खारेजीको माग गरेका छन् ।
सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई भेटेर उनीहरुले तत्काल समिति भंग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यलयले गठन गरेको तदर्थ समितिले समेत साधारणसभा गराउन नसकेपछि तदर्थ समितिले नै निर्वाचन गराउन भनी ५ सदस्य निर्वाचन समिति गठन गरेको थियो । तर उक्त समितिले समेत निर्वाचन प्रक्रियामा नगएर तेस्रो साधारणसभा गरेर १ हजार ९ सय २७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिती गराई अवैधानिक तरिकाले मूल समिति नै गठन गरेपछि साधारण सदस्यहरु पुनः निर्वाचनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन बुझाएका हुन् ।
उनीहरुले सोमवार नै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई समेत भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझाउँदै साधारण सदस्यहरुले निर्वाचन गराउने भनी गठन भएको निर्वाचन समितिका संयोजक सलिम हल्वाई (बाबु) ले आफनो घरमा बसेर मूल समिति गठन गर्दै आफै मूल समितिको कोषाध्यक्ष बनेको भन्दै साधारण सदस्यहरुले आपत्ती जनाएका छन् ।
कतिपय भंग गरिएको कार्यसमितिकै पदाधिकारी समेत हलवाईको नेतृत्वमा चयन भएका छन् ।
भंग भएका कार्यसमितिका पदाधिकारीहरु नै गुपचुप बनाइएको कार्यसमितिको पदाधिकारीमा आएपछि समितिमा ठूलो आर्थिक चलखेललाई दवाउन खोजिएको मुस्लिम समुदायको भनाइ छ ।
Discussion about this post