बाँके माघ १९ गते ।
नेपालगन्जमा ९ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडाका ९ हजार ३ सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।
उपमहानगरपालिकाका विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ९८ जना र विद्यालय बाहिर रहेका एक हजार ८ सय २१ जना किशोरीलाई खोप लगाउन लागिएको चन्दले जानकारी दिए । ९९ सय वटा विद्यालय र २३ वटा स्वास्थ्य संस्था गरी एक सय २३ वटा खोप केन्द्रबाट २९ गतेसम्म एचपिभी खोप लगाइने जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।
यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने वलीले बताए । एचपिभी खोपबारे जनप्रतिनिधि, कर्मचारी तथा संचारकर्मीहरुलाई जानकारी दिन शुक्रबार उपमहानगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन नगर प्रमुख प्रशान्त विष्टले आग्रह गरे ।
नगर प्रमुख विष्टले उमेर पुगेका लक्षित बालिकाहरुलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट बालिकाहरुलाई जोगाउन आग्रह समेत गरे ।
Discussion about this post