बाँके माघ २५ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । सामुदायिक कुकुरहरूको टोकाईबाट हुने जोखिम न्यूनीकरण गर्न समुदायस्तरमा रेबिज विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
नगरभित्रका ३०० सामुदायिक कुकुरलाई भ्याक्सिन लगाउने लक्ष्यसहित अभियान अगाडि बढाइएको पशु शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । बुधबार एकै दिन १८५ सामुदायिक कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको छ ।
पशु शाखाका पशु चिकित्सक डा। आशिष थारु नेतृत्वको सात जना सम्मिलित प्राविधिक टोलीले भ्याक्सिन लगाएको हो । टोलीमा २ जना भ्याक्सिनेटर, २ जना डग क्याचर लगायत छन् । नगरमा सामुदायिक कुकुरको टोकाईका कारण मानिस तथा पशुचौपायामा रेबिजको संक्रमण बढ्ने जनगुनासो आएपछि सामुदायिक कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको थारुले बताए ।
यो अभियानको नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले शुभारम्भ गरेका थिए । पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमका अनुसार रामलिला मैदान क्षेत्रबाट भ्याक्सिन लगाउन सुरु गरिएको थियो ।
Discussion about this post