बाँके माघ २६ गते ।
नेपालगन्ज उपनगरपालिकाले बसपार्क ठेक्काका लागि आह्वान गरेको बोलपत्रमा सेटिंग भएको आरोप लागेको छ ।
कुनैबेला पर्यटकीय स्थलको रुपमा रहेको नेपालगन्ज बसपार्क सुविधा सम्पन्न बसपार्कको रुपमा मानिन्थ्यो । नेपालगन्ज उपमहानगरपालिका वडा न.४ स्थित रहेको बसपार्क झण्डै साढे चार बिघा क्षेत्रफलमा फैलिएको छ ।
नेपालगन्ज बसपार्क बनाउन १६ करोड १६ लाख रूपैयाँ लागेको थियो । २०७६ सालदेखि सञ्चालनमा आएको बसपार्क यतिबेला भने भताभुङ्ग भएको छ ।
फोहोरको डंगुरले दुर्गन्धित उक्त्त बसपार्क व्यवस्थापनको पर्खाइमा रहेकै बेला नेपालगन्ज उपमहानगरपालिकाले बसपार्क संचालनका लागि एक करोड रुपैयाँमा ठेक्का आह्वान गरेको छ । पाँच बर्षका लागि २०८१ साल मंसिर १४ गते बोलपत्र आह्वान गरेको हो । तर उक्त सुचना गुमनाम राखेर आफु निकटकालाई ठेक्का दिन खोजेको आरोप लागेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीले विभिन्न ठाउँमा आ–आफ्नो तरिकाले सेटिङ्गको गर्न खोजेको व्यवसायीको आरोप छ। नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारीले नेपालगन्जको धम्बोजीमा रहेको एक रेष्टुरेन्टमा बसेर गोप्य मिटिङ गरि ठेक्का सम्बन्धि सम्पुर्ण जानकारी दिएको बताइएको छ । दस वटा कम्पनीको नाम ति कर्मचारीले आफै लेखेर ठेक्का हालेको ब्यबसायीले आरोप लगाएका छन् । त्यसैमा पनि एघारौ नम्बरमा रहेको कम्पनिलाई ठेक्का दिइएको छ ।
नेपालगन्ज उपमहानगरले ठेक्का खोल्ने बेला यो यो कम्पनी र संघ संस्थाले बोलपत्रमा दाबी गरेको भन्दै नामावली समेत सार्वजनिक गरे पनि दोस्रो या तेस्रो दिन ती कर्मचारीले सार्वजनिक गरेको नामावली भन्दा फरक ब्यक्ति र संस्थालाई बोलपत्र स्वीकृत गरेको छ । ठेक्का स्वीकृत भएको सुचना र ठेक्काको बोलपत्र कतै सुचना सार्वजनिक नगरेको ब्यबसायीको आरोप छ । नेपालगन्ज उपमहानगरपालिकाको वेब साईटमा ठेक्का बोलपत्र र ठेक्का स्वीकृतको सुचना नदेखेको उनीहरुले स्पस्ट पारेका छन् ।
तर नेपालगन्ज उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख दिपेन्द्र श्रेष्ठले नियम संगत रुपमा ठेक्का आह्वान गरेको दाबी गरेका छन् । उनले नेपालगन्ज उपमहानगरको वेब साईटमा केही समस्या आएकोले राख्न नसकिएको जिकिर गरे ।
पत्रिकाको हकमा बाँकेको कालपृष्ट दैनिक र काठमाडौंको नागरिक देैनिकमा बोलपत्र आह्वान गरि ठेक्का प्रक्रिया अगाडि बढाइएको उनले बताए । उनले आफु माथि लगाइएको आरोपमा कनै सत्यता नभएको जिकिर गरे । गलत र भ्रमपूर्ण तरिकाले आरोप लगाएको बताउँदै उनले भ्रममा नपर्न आग्रह गरे ।
Discussion about this post