बाँके माघ २६ गते ।
नेपालगञ्ज उपमहानगरपालिका–११ टांगा स्टेशन नजिक इरसाद राई कबडिया हत्या प्रकरणमा नेपालगन्जबाट प्रहरीले अर्का आरोपीलाई पनि पक्राउ गरेको छ ।
उक्त घटनाका मुख्य आरोपी जाजरकोट कुशे गाउँपालिका–८ का २३ वर्षीय जगत सिंह ठकुरीलाई ७ महिनापछि नेपालगञ्जमा आएको अवस्थामा पक्राउ गरेपछिको अनुसन्धानबाट सुरज सिंह ठकुरी भन्ने शिवराज सिंहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी आयुश प्रसाद जोशीले जानकारी दिए ।
माघ १९ गते राति नेपालगन्जको अछामी होटेलबाट पक्राउ परेका जगतले सुरजको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । जिल्ला प्रहरी बाँकेको टोलीले सुरजलाई आज पक्राउ गरेको जानकारी दिएको छ । डीएसपी जोशीले सुरजसँग थप अनुसन्धान सुरु गरिएको बताए ।
गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच ग्याङफाइट भइरहेको थियो। उक्त ग्याङफाइट छुटाउन गएका ३८ वर्षीय इरसाद राई कबडियामाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो ।
घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा जगत समूहले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उक्त घटनामा प्रहरीले अरुको पनि संलग्नता हुन सक्ने बताएको छ ।
Discussion about this post