बाँके माघ २७ गते ।
नेपालगन्ज उपमहानगरपालिका २२ का जगदिश वर्माको ई–रिक्सा नेपालगन्ज उपमहानगरले गतवर्ष कब्जामा लियो ।
नेपालगन्जमा निर्वाध रुपमा संचालन भइरहेको ई–रिक्सा अवैध भएको भन्दै नेपालगन्ज उपमहानगरले नियन्त्रणमा लिएपछि उनि रिक्सा फिर्ता माग्न पटक पटक उपमहानगरको कार्यालय गए ।
नेताहरुसँग हारगुहार गरे । ई–रिक्सा माग्दा माग्दै ६ महिना वित्यो, तर उनले ई–रिक्सा पाएनन् ।
उनिसँगै नियन्त्रणमा लिएको ई–रिक्सा छानविन गर्ने भन्दै नेपालगन्ज उपमहानगरले जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा राख्यो ।
उक्त ई–रिक्सा अवैध भएको भन्दै उपमहानगरले एक्जाभेटर मार्फत नष्ट गर्न थालेपछि उनको मन झनै दुख्यो । उनले सहन सक्नु भएन । पिरैपिरले विरामी भए ।
उपमहानगरले ई–रिक्सा नियन्त्रणमा लिएपछि वर्माको रोजगारी गुम्यो । घरमा खान, लाउन समस्या हुन थाल्यो । चिन्तैचिन्ताले विरामी परेका उनले उपचार गराउने रकम समेत पाएनन् । अन्ततः उनले घरको कोठामा देहत्याग गरेर संसारबाट विदा लिए ।
आत्महत्या गरेको खवर पाएपछि उपमहानगरका जनप्रतिनिधि र कर्मचारी उनको घरमा आए । परिवारका सदस्यसँग सोधपुछ गरे ।
राहतका लागि रकम दिने प्रतिवद्धता समेत जनाए, तर त्यसपछि न त जनप्रतिनिधि आए न त कर्मचारी नै ।
नेपालगन्ज उपमहानगरले ई–रिक्सा फिर्ता गर्यो, तर ढिला भइसकेको थियो । त्यो भन्दा अघि वर्माले सदाका लागि यो संसार छोडिसकेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रणमा लिएर पतिलाई देहत्याग गर्न बाध्य पारेको वर्माकी पत्नी मिना कुर्मीले बताइन् ।
वर्माले देह त्याग गरेपछि ई–रिक्सा ब्यवस्थित बनाउने नाममा नेपालगन्ज उपमहानगरले सर्वसाधारणमाथि अत्याचार गरेको ई–रिक्सा संघर्ष समितिका संयोजक रियाज अहमद शेषले बताए ।
कागजात भएका ई–रिक्सालाई समेत उपमहानगरले दुख दिएको बताउँदै उनले ई रिक्सा नियन्त्रणमा लिएर सर्वसाधारणलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए ।
Discussion about this post