दाङ माघ २८ गते ।
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् । मटावाँ, बरघर, भल्मन्सा महासंघको आयोजनामा दाङको दङ्गीशरण–३, चखौरामा भेला भएका मटावाँ (बरघर, भलमन्सा), ककन्डर्वाहरूले सो कुरामा जोड दिएका हुन् ।
मटावाँ, बरघर (भलमन्सा) महासंघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतन्त्रको सुन्दर अभ्यास मटावाँ प्रथामा रहेकाले लोकतन्त्रको रक्षाका निमित्त पनि मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने बताए । ‘थारू समुदायको परम्परागतदेखि मान्दै आएको प्रथाजनित मटावाँ प्रथामा लोकतन्त्रको सुन्दर अभ्यास छ’, उनले भने, ‘गाउँको विकासदेखि सामाजिक न्यायिक कामको नेतृत्व थारू गाउँमा मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वाहरूले गर्दै आउनुभएको छ, तसर्थको मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्छ ।’
अहिले केही स्थानीय तहले मटावाँ, बरघर भलमन्सालाई कानुनी मान्यता दिए पनि प्रदेश सरकारले ऐन ल्याउन आनाकानी गरिरहेको बताउँदै पूर्व मुख्यमन्त्री समेत रहेका चौधरीले थारू बाहुल रहेको प्रदेश सरकारले मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा ऐन ल्याउन अग्रसर हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासोको साथ लिएर मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा ऐन ल्याउन पर्ने प्रदेश सरकारलाई आग्रह गरे ।
प्रदेश र स्थानीय तहको समग्र विकास र समृद्धिका लागि यो ऐन आवश्यक छ, उनले भने, ‘मटावाँ, बरघर, भलमन्सा, ककन्डर्वा प्रथालाई कानुनी मान्यता दिएर वैधानिकता दिएमा लोकतन्त्रका रक्षासँगै देशको समृद्धिमा टेवा पुग्ने छ ।’ यसैगरी उनले थारूबहुल क्षेत्रलाई थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे । ‘थारू समुदायका आफ्नै छुट्टै किसिमको मौलिक कला, संस्कृति भेषभुषा छन्, यी संस्कृति भनेको देशको गहना हो, पूर्व मुख्यमन्त्री एवं महासंघका अध्यक्ष चौधरीले भने, ‘यसको जगेर्णा गर्ने राज्यको दायित्व हो ।’
यस्तै, मटावाँ, बरघर, भल्मन्सा संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले थारू समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्धनका लागि मटावाँ प्रथालाई कानुनी मान्यता दिनुपर्ने बताए । ‘राणाकालमा देशबन्ध्या गुर्वा, मटाँवाहरूलाई लालमोहर दिइएको थियो । उहाँले भने, ‘अहिले नयाँ नेपालमा लोकतन्त्र आएपछि मटावाँहरूको अधिकार खोसिएको जस्तो आफूहरूलाई आभास भएको छ ।’
मटावाँले गाउँको सामाजिक काममा खट्नु पर्ने हुन्छ, उनले भने, ‘पहिला गाउँको कुलो, नाला, बाटोघाटोको अनुगमन गर्ने, मर्मतसम्भार गराउने, विकास निर्माण कामको अगुवाइ गर्नेदेखि गाउँघरमा हुने झगडाको छिनोफानो गर्नेसम्मको जिम्मेवारी मटावाँमाथि हुन्थ्यो, तर, पछिल्लो समय यस्तो जिम्मेवारी मटावाँको काँधबाट खोसिंदै गएको छ ।’
“मटावाँले गर्दैआएको काम स्थानीय सरकारले गठन गरेका टोल विकास संस्था मार्फत हुन थालेपछि मटावाँलाई गाउँलेले मान्ने छन्’, उनले दाङ घोराही १० जलौराका मटावाँ समेत रहेका चौधरीले भने, ‘मटावाँको नेतृत्वमा हुँदै आएको विकास निर्माणको काम अहिले टोल विकास संस्थाका अध्यक्षको अगुवाइमा हुन्छ ।’ यस्तै, गाउँघरमा हुने झगडा, विवादको न्यायिक निरूपण स्थानीय सरकारकै न्यायिक समितिले गर्छ, जसलेगर्दा मटावाँको मानसम्मान हराउँदै छ, थारू संस्कृति पनि लोप हुने खतरामा छ ।’
Discussion about this post