बाँके फागुन १ गते ।
बाँके प्रहरीले एक महिनाको अवधिमा ६१ जना फरार अपराधी पक्राउ गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी तुलबहादुर कार्कीले माघ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै एक महिनाको अवधिमा अदालतबाट दोषी ठहर भइ फरार रहेका ६१ जना अपराधीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुबाट २५ वर्ष ९ महिना २१ दिन कैद असुल भएको पनि उनले बताए । त्यसैगरी २० लाख ६ हजार ७२७ रुपैयाँ जरिवाना समेत असुल गरिएको एसपी कार्की बताउँछन् । त्यसैगरी १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए । ५८ वटा पेन्डिङ मुद्दा फस्र्यौट गरिएको छ । उनले भने–‘३९४ वटा ठाडो उजुरी प्राप्त भएका थिए ।
३८७ वटा फस्र्यौट भएका छन् । बाँकी ७ वटा निवेदन फस्र्यौटको तयारीमा छन् ।’ महिला बालबालिकासम्वन्धी १० वटा मुद्दा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको, घरेलु हिंसा सम्बन्धी ४० वटा उजुरी प्राप्त भएकोमा ३३ वटा फस्र्यौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको, सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकी प्रक्रियामा रहेको, हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अभिभावकको जिम्मा लगाईएको र बाँकी खोजतलासको क्रममा रहेको, सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको र अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको पनि एसपी कार्कीले बताए ।
यो एक महिनाको अवधिमा ३४ जना लागू पदार्थ ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ । एसपी कार्की भन्छन्–‘लागू औषध ओासरपसार विरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम १९० ट्याब्लेटसहित ३४ जनालाई कानूनको दायरमा ल्याइएको छ ।’ १४ लाख ४३ हजार १९६ मुल्य बराबरको भन्सार छलिको अवैध सामान समेत बरामद गरिएको एसपी कार्कीले बताए । त्यसैगरी ट्राफिक नियम उलंघन गरी सवारी साधन चलाउने ३ हजार २९७ वटा सवारीसाधनलाई कारवाही गदा २५ लाख ४५ हजार राजश्व संकलन भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएर ५ हजार जरिवाना गरिएको पनि एसपी कार्कीले बताए । बाँके प्रहरीले समुदाय प्रहरी सहकार्य र गतिविधीलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । समुदाय र प्रहरी सहकार्य अन्तर्गत मातहत सहित गरी १४४ वटा सचेतनामुलक कार्यक्रम जसमध्ये लैङ्गिक हिंसा , लागू औषध सम्बन्धि सचेतना,आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना ,अल्पशंख्यक संग प्रहरी, नागरिक सुनुवाई, सितलहर सचेतना, समुदाय प्रहरी साझेदारी, महोत्सवमा एक्ब् भिडियो प्रदर्शन, साईबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको एसपी कार्कीले बताए ।
Discussion about this post