बर्दिया फागुन २ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीको सहयोगमा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट उक्त बाघ डाट गरी नियन्त्रणमा लिएको हो ।
गाउँबस्तीमा पसेर चौपाया मारेर खाने, मानिसलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त भनिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार नियन्त्रणमा लिएको बाघ करिब ३ वर्षको पोथी रहेको छ । ‘समस्याग्रस्त बाघ गाउँ नजिक आएको थाहा भएपछि संयुक्त टोलीले नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘बाघको फ्रोफाइल अध्ययन भइरहेकोले यसलाई कहाँ पठाउने भन्नेबारे निकुञ्ज प्रशासनले विभागसँग समन्वय गरिरहेको छ ।’
नियंत्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने सम्भावना पनि रहेको उनको भनाइ छ । बर्दिया निकुञ्जको ठाकुरद्वारा र रम्मापुरमा रहेको बाघको थुनुवा कक्ष यसअघि नै भरिसकेको छ । थुनुवा कक्षमा तीनवटा बाघ रहेका छन् ।
Discussion about this post