बाँके फागुन २ गते ।
परापूर्व कालदेखि चलनचल्तीमा रहेको जाँतो, सिलौटोमा पिस्ने चलन दिन प्रतिदिन घट्दै गएको छ । नयाँनयाँ प्रविधिको आविष्कार, सर्वसाधारणको व्यस्तता कारण जाँतो सिलौटोमा पिस्ने चलन हराउँदै गएको हो । भारतबाट नेपालमा तीन पुस्तादेखि सिलौटो, जाँतो र ओखल बिक्री गरेर परिवार पाल्दै आएका रमेश पथरकट्टाको परिवार अहिले पनि सोही काममा व्यस्त छन् ।
तर मिहिनेत र परिश्रमअनुसार बिक्री वितरण हुन छोडेको उनको ४१ वर्षीय नाती रोहन पथरकट्टको गुनासो छ । भारतमा घर भएपनि बाँकेलगायत आसपासका जिल्लामा जाँतो र सिलौटोको व्यापार आफ्नो हजुरबुबाको पालादेखिनै चलिएआएको उनले बताए । जाँतो, सिलौटो बनाउन अहिले तेस्रो पुस्ता हामी नातिहरूले निरन्तरता दिँदै आएको रोहनले बताए । उनका अनुसार हजुरबुवा र बुवाको पालामा यसको व्यापार एकदमै राम्रो भए पनि अहिले सर्वसाधारणले कहिलेकाहीँ मात्र यसको प्रयोग गर्नाले एक पटक किनेपछि पुस्तौं पुस्तासम्म प्रयोग हुने हुनाले बिक्री घटेको हो ।
पहिले दिनहुँ जाँतो, सिलौटो गरी ४ देखि ७–८ वटासम्म बिक्ने अहिले कहिलेकाहीँ एउटा बेच्न पनि समस्या भएको उनको अनुभव छ । सहरमा यसको बिक्री ह्वात्तै घटेको छ । गाउँघरमा अहिले पनि बिक्री हुँदै आएकोले अहिलेसम्म यो पेशामा टिक्न सकेको उनको भनाइ छ । साइकलमा सिलौटो र जाँतो बोकाएर बाँकेका विभिन्न गाउँ जाने र दिनभरीमा बिक्री गरेर फर्किने गरेको उनको भनाइ छ । उनी थप्छन्, “बनाएको ठाउँमा बेच्न गाह्रो भएकोले गाउँगाउँमा गएर बेच्नुपर्ने बाध्यता छ ।“ उनका अनुसार परिवारका १ दर्जन सदस्य यस पेशामा निरन्तर लागिरहेका छन् ।
उनका बुवा सागर पथरकट्टा जाँतो, सिलौटो बनाएर जीविकोपार्जन गर्दै आएका छन् । पाँच सयदेखि १० हजार रूपैयाँसम्म सिलौटो र ५ सयदेखि १५ हजारसम्ममा एक जोडी जाँतो तथा ३ सयदेखि १५ सयसम्ममा ओखल बिक्री गर्दै आएको रोहनको भनाइ छ । ग्राहकको चाहना अनुसार जति राम्रो बुट्टा बनाउन सकियो । जति धेरै समय दिन सकियो । त्यति रूपैयाँ लिएर बेच्दै आएपनि यस्ता अर्डर कहिलेकाँही मात्र आउने गरेको उनको भनाइ छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ लालापुर्वाकी ज्ञानमता कुर्मीले शरूशुरूमा मसला, अचार पिस्न सिलौटोको प्रयोग र दाल, चामल लगायत पिस्न जाँतोको प्रयोग गर्दै आएपनि विगत पन्ध्र वर्षदेखि यस कामको लागि मिल र घरमै भएको मिक्सर प्रयोग गर्दै आएको जानकारी दिइन् । समयको माग अनुसार महिलाको घरभित्र र बाहिर दोहोरो जिम्मेवारी निर्वाह गर्ने क्रममा घरभित्रको सम्पूर्ण कामको जिम्मेवारीका कारण समयको अभावमा जाँतो र सिलौटो प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै घटेको उनको धारणा छ । “यो पेशाले बल्लतल्ल खान पुगेको छ । अरू केही गर्न सकिएको छैन ।
हाम्रो पुस्तौली पेशा हामीले छोडे कसले गर्ने ? नचाहेर पनि हामी गर्न बाध्य छौं तर समय परिस्थिति अनुसार यसबाट जीविकोपार्जन गर्न कठिनाइ भएको छ“, रोहनका बाबु सागर पथकरकट्टाले भने । उनका तीन छोरा ९–१० वर्षको उमेरदेखि जाँतो र सिलौटो बनाउँदै आएका छन् ।
तीनै दाजुभाई सामान्य लेखपढ गर्न सक्छन् । पुर्खौली पेशालाई निरन्तरता दिन यही पेशामा समर्पित रहेको उनको भनाइ छ । तीन पुस्तादेखि यो पेशालाई निरन्तरता दिएपनि यसको प्रयोग घटेपछि यस पेशाको विकल्पमा आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिने योजना रहेको रमेशले बताए । उनले एक दिनमा एक जनाले १ देखि पाँच वटासम्म सिलौटो र एकदेखि दुई जोडी जाँतो बनाउँदै आएको जानकारी दिए ।
Discussion about this post