बाँके फागुन ४ गते ।
२०८२ मंसिर ७ देखि ११ गतेसम्म पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट काठमाण्डौमा आयोजना गरिने भएको छ । फोर एच नेपालको समन्वय तथा एशिया फोर एच नेटवर्कको आयोजनामा पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट आयोजना गरिने भएको हो ।
समिटमा विश्वका २४ देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर समिटबारे जानकारी गराइएको हो ।
समिट अवधिभर, अन्तर्राष्ट्रिय कार्यशाला, समानान्तर कार्यक्रम (साइड इभेन्ट), कार्यपत्र सेसन, माउण्टेन फ्लाइट तथा काठमाडौं टुअर तथा फिल्ड भिजिट आयोजना गरिनेछ । साथै समिटमा हिमालयन खाना महोत्सव, एशिया ग्रीन सेमिनार, सांस्कृतिक कार्यक्रमसहितका गतिविधि आयोजना गरिने एसिया फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थीले बताए । समिटको अन्तिम दिन एशिया ग्रीन घोषणापत्र जारी गरी ३ वर्षका लागि एशिया फोर एच नेटवर्कको नेतृत्व चयन गरिने अवस्थीले जानकारी दिए ।
समिटको तेस्रो दिन अर्थात् मंसिर ९ गते राष्ट्रिय युवा महोत्सवको आयोजना गरिनेछ । यसमा देशभरीबाट ३०० जना युवाहरुको सहभागिता रहनेछ । यसमा युवा बहस, हरित आर्ट प्रतिस्पर्धा, जलवायु युवा नीति कार्यशाला तथा १०० युथ इको लिडर छनौट तथा जलवायु युवा अनुभव आदानप्रदान सत्रको पनि आयोजना गरिने फोर एच नेपालका अध्यक्ष विष्णु प्रसाद बेलबासेले जानकारी दिए ।
समिटमा जलवायु परिवर्तनले विश्व प्रभाव, युवा, वैदेशिक आप्रवासन तथा रोजगारी, हरित कृषि र एशियाको अवस्था, जलवायु न्याय, दिगो विकासको अवस्था, ग्रीन इकोनोमी र उद्यमशिलता लगायतका विषयहरुमा छलफल तथा बहस गरिनेछ ।
साथै, नेपालमा जलवायु परिवर्तनको अवस्था, नेपालले पाउनुपर्ने जलवायु न्याय तथा नीति निर्माणको अवस्थाको बारेमा पनि छलफल हुने एशिया फोर एच नेटवर्कका अध्यक्ष अवस्थीले बताएका छन् । फोर एच नेपालले विगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशिलता, जलवायु परिर्वतन, कृषि तथा नीति पैरवी लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
Discussion about this post