बाँके फगुन ५ गते ।
लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलावारले वन्यजन्तुबाट हुने क्षती न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । वन्यजन्तुबाट भएको राहात वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले क्षती न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए ।
उनले खासगरी बाँके राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले मानिस तथा पशु र कृषि क्षेत्रमा नोक्सानी पुराइरहेको पाइएकोले त्यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको पनि उल्लेख गरे । राप्तीसोनारीमा भएको कार्यक्रममा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षतीबाट पीडित परिवारलाई राहात वितरण गरिएको थियो ।
३७ जनालाई १९ लाख १२ हजार ५०० रुपैयाँ वितरण गरिएको राप्तीसोनारीका वातावरण शाखा प्रमुख सपना वलीले जानकारी दिइन् । सबैभन्दा धेरै राप्तीसोनारीका ३३ जनाले राहात रकम पाएका छन् । त्यसैगरी कोहलपुर, बैजनाथ र खजुरा गाउँपालिकाका थप ४ जना पीडितहरुले पनि राहात प्राप्त गरेको वलीले बताइन् ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्विनी प्रदेशका वन मन्त्रालयका सचिव मोहन लाल काफ्ले, राप्तीसोनारी गाउँपालिकाका प्रशासकीय अधिकृत दान बहादुर एडी, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post