बाँके फागुन ७ गते ।
लागु औषध नियन्त्रण गर्न अभियान थालेको बाँके प्रहरीले बुधवार भारी परिमाणमा लागुऔषध ब्राउनसुगरसहित एक भारतियलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले तीन सय ५१ ग्राम ब्राउनसुगरसहित बहराइच नानपाराका ३१ वर्षीय बिशाल अहमदलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
उनले विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो ४ वजेर ५५ मिनेटमा लागु औषध सहित अहमदलाई पक्राउ गरेको बताए । उक्त ब्राउनसुगरको मुल्य नेपाली बजारमा करिव दुई करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका २१ स्थित महाराज स्कुल नजिक मोटरसाइकल राखेर उभिरहेका अहमदले समातेको कालो प्लाष्टिकमा उक्त लागु औषध बरामद भएको एसपी कार्कीले बताए । उनको साथबाट यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ समेत बरामद भएको एसपी कार्कीले जानकारी दिए ।
बाँकेमा बढ्दै गएको लागु औषध ओसार पसार र प्रयोगलाई न्यूनिकरण गर्न बाँके प्रहरीले विशेष अभियान थालेको छ । नेपालगन्ज नाका र विभिन्न नाकामा प्रहरी परिचालन गरि लागु औषध नियन्त्रणका लागि अभियान थालेको उनले बताए । ‘लागु औषध न्यूनिकरण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अभियान अन्तरगत एकैदिन तीन सय ५१ ग््राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुबाट सूचना लिएर थप प्रयोगकर्ता र ओसार पसारमा संलग्नलाई पक्राउ गर्ने नीति प्रहरीको छ ।’
विशाल विगत लामो समयदेखि नेपालगन्ज क्षेत्रमा लागु औषध विक्रि र सेवन गर्दै आएको बाँके प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेका विशाल प्रहरीको खोजीको सूचीमा थिए,’ उनले भने, ‘उनलाई खोज्न सुराकी परिचालन गरेका थियौँ । फलस्वरुप भारी परिमाणको लागु औषधसहित उनलाई पक्राउ गर्न सफल भएका छौँ ।’
एसपी कार्कीले लागु औषध नियन्त्रण गर्न अझ सशक्त भएर लाग्ने बताए । ‘लागु औषधले बाँके जिल्लालाई मात्र नभई सिंगो देशलाई असर गरेको छ । युवा जमात लागु औषध दुब्र्यसनमा फसेका कारण देश विकासमा प्रत्यक्ष असर परेको छ,’ उनले भने ।
Discussion about this post