बाँके फागुन ८ गते ।
नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि सम्वेदनशीले नबन्दा नेपालगन्जको विभिन्न सडक अतिक्रमणको चपेटामा परेका छन् ।
नेपालगन्जको सौन्दर्यकरण गरि बाह्य पर्यटक भित्र्याउने प्रतिवद्धता जनाएका मेयर र उपमेयर औपचारिक र अनौपचारिक कार्यक्रममा सिमित हुँदा नेपालगन्जको विकासमा समय दिन नसकेको जनताले गुनासो गरेका छन् ।
जनप्रतिनिधिको बेवास्ताका कारण विशेषगरि सदरलाइन, त्रिभुवन चोक, धम्बोझी, घरवारी टोल लगायतका क्षेत्र कुरुप बनेका छन् । यहाँका सडक पेटी अतिक्रमण हुँदा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ नै सवारी दुर्घटना निम्तिने जोखिम बढेको छ ।
ब्यापारीले सडक पेटी अतिक्रमण गर्दासमेत मेयर र उपमेयरसँगै नगरलाई ब्यवस्थित बनाउन खटिएका नगर प्रहरीहरु देखेर पनि नदेखेझैँ गर्दै आएका छन् । एसी गाडीमा बसेर नगरका विभिन्न भागमा सयर गर्ने नगर प्रहरी वीच सडकमा सवारी साधन पार्किङ हुँदासमेत मुकदर्शक बनेर हिड्दै आएका छन् ।
ट्राफिक प्रहरीले सडक छेउमा राखिएको निर्माण सामग्री र ब्यापारीले राखेको सामान हटाए पनि उप महानगरले ब्यवास्ता गर्दा सडक पेटी पुनः अतिक्रमणमा परेकाछन् । वीच सडकमा सवारी साधन पार्किङ हुँदासमेत नहटाउँदा नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिको काम प्रति शंका गर्नुपर्ने भएको छ ।
नेपालगंज उप महानगरले सात दिनसम्म मात्र सडक छेउमा निर्माण सामग्री राख्न दिने निर्णय पनि कागजमा मात्र सिमित भएको छ । घर धनीले महिनौसम्म निर्माण सामग्री राख्दासमेत उपमहानगरका जनप्रतिनिधि र नगर प्रहरीले हटाउने त के हटाउन दवाव दिन समेत सक्दैन । यसरी निर्माण सामग्री राख्दा सडक दुर्घटना निम्तिने खतरा बढाएको छ ।
निर्वाचनका बेला एक महिना भित्र नगरको मुहार फेर्ने प्रतिबद्धता जाहेर गरेका मेयर र उपमेयरको प्रतिबद्धता केवल नारामा मात्र सिमित भएको छ । चुनाबका बेला नगरको समग्र बिकास गर्ने नारा लगाएका मेयर र उप मेयर सडक पेटीको अतिक्रमण समेत हटाउन नसक्दा जग हसाउने काम भएको छ नै नेपालगन्जबासीको इज्जतमाथि नै धावा बोल्ने काम भएको छ । यसतर्फ उपमहानगरका जनप्रतिनिधिले बेलै ध्यान नदिने हो भने नेपालगन्जको इज्जत राप्ती नदिको पानीसँगै बगेर जाने निश्चित छ ।
Discussion about this post