बर्दिया फागुन १० गते ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले झुटो विवरण दिई नेपाली नागरिकता लिएकाहरूको छानविन थालेको छ । यस क्रममा कार्यालयबाट ३८ र गृह मन्त्रलयबाट ३ जनाको नेपाली नागरिकता खारेज भएको छ । गृह मन्त्रालयबाट गुलरिया नगरपालिका–१२ का भन्साराम भुर्जी, सोही ठाउँका चेतराम भुर्जी र बैजनाथ भुर्जीको नागरिकता खारेज भएको छ ।
उनीहरूले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका थिए । सन्साराम र बैजनाथले ०६३ साल चैत ३० गते नागरिकता प्राप्त गरेका थिए । चेतरामले ०६३ साल फागुन १० गते नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारीको निर्णयबाट साविक पदनाहा गाविस–२ का झबरु थारु, मधुवन नगरपालिका–७ का श्रीमाया सुनार, ठाकुरबाबा नगरपालिका–५ कि अनिता थारु, साविक गुलरिया पालिका–७ का तिलकराम यादव लगायत ३८ जनाको दोहोरो नागरिकता खारेज भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।
यसैगरी अन्य १३ जनाले भने नेपाली नागरिकता परित्याग गरेका छन् । झुटो विवरण पेश गरेकी बाँसगढी नगरपालिका–२ कि लक्ष्मी शाही भन्ने कल्पना थारुविरुद्ध अदालतमा ०७९ साल असार ३ गते मुद्दा दायर भएको थियो । बर्दिया जिल्ला अदालतको थुनछेक मुद्दामा ३ लाख धरौटी माग गरिएको थियो ।
’उनले उक्त रकम बुझाउन नसक्दा कारागार चलान भएका छन्,’ प्रजिअ शर्माले भनिन्, ‘बढैयाताल गाविस–७ का चेतराम रैदास भन्ने सिताराम रैदासलाई जिल्ला अदालतको आदेशले नागरिकता मुद्दामा ०७९ साल बैशाख २९ गते पुर्पक्षका लागि कारागार चलान भएका छन् ।’
Discussion about this post