बाँके फागुन १० गते ।
एउटा भाष्य छ चुनाव जितेपछि नेताहरु जनता विर्सन्छन् । अनि पार्टी विर्सन्छन् । त्यसपछि आफ्ना साथीभाइ पनि विर्सन्छन् । यसको आश्य हो चुनाव जितेपछि उनीहरुमा एक किसीमको दम्भ हावी हुन्छ । चुनाव जितेपछि जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउन काँग्रेस बाँकेले प्रयास प्रारम्भ गरेको छ ।
काँग्रेसबाट निर्वाचित पालिकाका प्रमुखहरुलाई पार्टी कार्यालयमा बोलाएर उनीहरु निर्वाचित भएर आएपछि हालसम्म के के काम गरे ? त्यसको जवाफ मागेको छ त्योपनि जिल्लाका पत्रकारलाई सँगै राखेर । ‘सम्भवत जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाएर पत्रकारसँग अन्तरक्रिया गरेको यो पहिलो पटक हो पार्टी सभापति नारायण प्रसाद गौडेलले भने–‘कम्तिमा यसले उनीहरु जनताप्रति थप उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफुले गरेका राम्रा अभ्यासहरु पत्रकारमार्फत् उजागर गर्न मद्दत गर्नेछ ।’
सभापति गौडेलले उत्कृष्ट काम गर्ने पालिकालाई सम्मान गरिने बताए । ‘बाँकेका आठ वटा पालिका मध्य जुन पालिकाले जनताको हितको पक्षमा काम गर्छ त्यो पालिकालाई पार्टीको आगामी तेस्रो जिल्ला सम्मेलनमा सम्मान गर्नेछ’– उनले भने । सभापति गौडेलले निम्न वर्गका नागरिकको पहँुच पुग्ने गरि जुन पालिकाले काम गरिरहेको छ त्यो पालिका पुरस्कृत हुने बताए । नेपाली कांग्रेसबाट जिल्लाका विभिन्न स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र योजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनप्रतिनिधिहरुले घोषणापत्र अनुरुप काम गर्दै गएको समेत जिकिर गरे ।
सभापति गौडेलले बाँकेका सम्पुर्ण स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार काम भईरहेको बताए । उक्त पत्रकार सम्मेलनमा सात स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले आ–आफ्नो पालिकामा गरेका काम र योजनाको बारेमा जानकारी दिएका थिए । फ्लोरबाट उठेका प्रश्नहरुलाई स्थानीय जनप्रतिनिधीहरुले पालैपालो जवाफ दिएका थिए । यसैगरि पालिकाभित्र गरिएका कामहरुमा भौतिक पूर्वाधार विकास, नीति तथा कानुन, सामाजिक विकास, सुशासन, आर्थिक विकास संगै स्वास्थ्य, शिक्षा, कृषि, विपद्, जेष्ठ नागरिक, महिला तथा बालबालिका लगायतकोे क्षेत्रमा जनतामूखी काम गरिरहेको पनि जानकारी दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, कोहलपुर नगरपालिकाका उपप्रमुख सगिंता सुवेदी, खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्थिती रहेको थियो । त्यसक्रममा कोहलपुर नगरपालिका प्रमुख आचार्यले कोहलपुर क्षेत्रलाई गुणस्तरी शिक्षालाई मुलमन्त्रका साथ शैक्षिक गुणस्तर सुधारमा बिगतको परीक्षा प्रणाली क्रमभंग नै गरिएको बताए ।
उनले कोहलपुर नगरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माणका लागि १३ करोडको लागतमा गुरूयोजना तयार गरिएको बताए । नगर आचार्यले कोहलपुरका प्रत्येक वडामा सडकको पहुँचका लागि ५ किलोमिटर पिच, २० किलोमिटर ग्राबेल सडक निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला, १५ किलोमिटर कच्ची नाला निर्माण गरिएको बताए ।
कोहलपुर नगरपालिका उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले कोहलपुरको समाजिक, आर्थिक र संस्कृतिको बिकास गर्ने गुरूयोजना अनुसार काम गर्दै आएको बताइन् । यस्तै डुडुवा गाउपालिका अध्यक्ष चौधरीले डुडुवालाई नेपालमै सबैभन्दा धेरै दुुग्घ उत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ काम गरिरहेको बताए । उनले २०७६ साल साउन १ गतेदेखि कन्या शिक्षा मुद्दती योजना लागू गरिएको बताए । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने गरिएको बताए । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ ।
त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चौधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको उनले बताए । बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले बैजनाथ गाउँपालिकाले नेपालको कुनै पनि पालिकामा नभएको कार्यक्रम किसानसंग पालिका अध्यक्ष कार्यक्रम संचालन गरि किसानहरूको समाजिक, आर्थिक र सांस्कृतिक बिकाशको काम गर्दै आएको बताए ।
उनले मिडियाकर्मीले स्थानीय निकायहरूको खोजमुलक समाचार तयार पारि प्रकाशन गरे स्थानीय निकायहरू सचेत हुने बताए । राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिका समग्र आमनागरिकको बिकाशका लागि पालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका, सडक पूर्वाधार तथा बिजुली बतीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । यस्तै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले निर्वाचनमा जनतालाई दिएको बाचा अनुसार काम गर्दै आएको बताइन् ।
Discussion about this post