काठमाडौं फागुन १२ गते ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गत साता एक कार्यक्रममा नेपाली कांग्रेस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिलाई लिएर कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको आशंका भयो । उनले सरकारको एमालेकरण भइरहेको आरोप पनि लगाउँदै आएका छन्।
तर त्यसको बचावमा नेता कोइरालाले आफ्नो अभिव्यक्तिको आशय पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने भएको भन्दै स्पष्ट पारेका छन्। उनले भने, ‘मैले त्यसरी भन्न खोजेको होइन। हामी एमाले र नेपाली कांग्रेसको सरकार छ।
करिव करिव दुई तिहाइको सरकार छ। दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफट्यारोमा त पर्दैन भन्ने एउटा छ। हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ।’ उनले थपे, ‘जो साथीहरू मन्त्रिमण्डलमा सरकारमा जानुभएको छ, ति साथीहरूले एमालेसँग सहकार्य गर। हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौँ। तर बाहिर छौँ।
हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’ नेता कोइरालाले ०८२ को मंसिरभित्रै तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको पनि उल्लेख गरेका छन्। तोकिएको समय भन्दा पछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने उनको तर्क छ ।
Discussion about this post