बर्दिया फगुन १६ गते ।
बर्दियाको बारबर्दिया नगरपालिका–११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दीलाई जिल्लाकोे पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार बर्दियाकै पहिलो तीन तारे विद्यालय घोषणा भएको हो ।
सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप मापदण्ड पुगेकाले विद्यालयलाई तेस्रो तारा घोषणा गरेको बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारूले बताए ।
उनका अनुसार सरकारले बनाएको कार्यविधिअनुसार नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०८१ बनाएर विद्यालयको खानेपानी सरसफाइको मापदण्ड तोकेको बताए । नगरपालिकाले बनाएको कार्यविधिअनुसार अनुगमन गरी मुल्याङ्कन गर्दा तेस्रो तारामा पनि ३० अङ्क ल्याएपछि नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो ।
तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पहुँचयुक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फूलबारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ । त्यसैगरी विद्यालयमा सरसफाइयुक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हार कोषको व्यवस्था गरिनु पर्दछ ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सिँचाइमन्त्री एवं सभासद सञ्जय गौतमले विद्यालयको शैक्षिक गुणस्तरका लागि खानेपानी सरसफाइ र स्वच्छताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सहयोगी संस्था लगायत सबैको सहयोगमा विद्यालयलाई तीन ताराको स्तरमा पुगेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
बर्दियामा नेपाल सरकारको कार्यविधिअनुसार बर्दिया जिल्लाका चार वटा स्थानीय तह गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागु गरिसकेको छ । ठाकुुरबाबा नगरपालिकाले कार्यविधि बनाउने पक्रियामा रहेको छ । कार्यविधिअनुसार बारबर्दिया नगरपालिकाले थप तीन विद्यालयलाई तीन तारा घोषणा गर्ने निर्णय गरिसकेको छ ।
गुलरिया नगरपालिकामा एक, ठाकुरबाबा नगरपालिकामा २ र गेरुवा गाउँपालिकामा एक विद्यालय तीन तारा घोषणा गर्ने तयारीमा रहेको बेस बर्दियाका परियोजना संयोजक जगदिशप्रसाद चौधरीले बताए । उनका अनुसार बर्दिया जिल्लामा हाल ३३ वटा विद्यालयमा कार्यविधिअनुसार काम भइरहेको छ ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा वास गेन्स परियोजना सञ्चालनमा छ । सोहीअनुसार विद्यालयमा काम भइरहेको संयोजक चौधरीले बताए ।
Discussion about this post