बाँके फागुन १८ गते ।
बाँके प्रहरीको पहिलो निशाना लागु औषध नियन्त्रणमा परेको छ । लागु औषध ओसार पसारको प्रमुख गन्तब्य नेपालगन्ज बन्न थालेपछि बाँके प्रहरीले पहिलो प्राथमिकतामा लागु औषध नियन्त्रणलाई बनाएको हो ।
हरेक दुई दिनमा एक–दुई जना लागुऔषध ओसार पसार तथा कारोबारी पक्राउ पर्ने गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अनलाइन खोजखवरलाई बताए । उनले १५ दिनमा सात जना लागुऔषध ओसार पसार तथा प्रयोगकर्तालाई पक्राउ गरि मुद्धा चलाएको बताए । यस अवधिमा १० जना लागु औषध ओसार पसार तथा प्रयोगकर्तालाई पक्राउ गरि उनीहरु विरुद्ध मुद्धा दर्ता गरिएको उनको भनाई छ ।
उनले १५ दिनमा एक किलो सय ग्राम ब्राउनसुगर, चार किलो २२० ग्राम चरेश र पाँच हजार ट्याब्लेट ट्रामाडोल ट्याब्लेट बरामद गरेको बताए । ‘अपराध नियन्त्रण अन्तरगत बाँके प्रहरीको पहिलो प्राथमिकतामा लागु औषध नियन्त्रण रहेको छ,’ एसपी कार्कीले भने, ‘नेपालगन्ज लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि प्रहरीले नियन्त्रण गर्न अभियान थालेको हो । यो अभियान जारी रहने छ । लागु औषध ओसार पसार गर्ने भरियालाई मात्र नभई मुख्य कारोवारीलाई पक्राउ गर्ने योजनाका साथ बाँके प्रहरी अगाडी बढेको छ ।’
उनले लागु औषध नियन्त्रणका लागि बाँकेको प्रमुख नाका जमुनाह र अन्य सहायक नाकामा कडाई गरिएको बताउँदै गर्ने गरेको बताए । ‘नाकामा प्रहरी परिचालन गरिएको मात्र छैन, सुचना संकलनका लागि सुचक समेत परिचालन गरिएको छ,’ कार्कीले भने ।
यसैवीच, इलाका प्रहरी कार्यालय जयसपुरले ठूलो परिमाणमा प्रतिवन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ । जयसपुर प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक निरज सिंहको टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जयसपुरका २४ वर्षीय नफिस कबडिया, भारत कलकत्ताका ३८ वर्षीय जियाउल शेष र भारत जागोरका १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
Discussion about this post