बाँके फागुन १९ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा सोमवार नेपालगन्जमा प्रदर्शन गरेकोे छ । राप्रपाले नेपालगन्जमा मोटरसाइकल र्याली गरेर राज संस्थाको पक्षमा जन प्रदर्शन गरेको हो । रामलिला मैदानबाट सुरु भएको र्याली नेपालगन्जको विभिन्न भागको परिक्रमा गरि त्रिभुवन चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले देशको हितका लागि राज संस्था अपरिहार्य भएको बताए ।
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले देश र जनताका लागि राज संस्था आवश्यक भएको बताउँदै राज संस्थालेमात्र देशको विकास सम्भव भएको धारणा राखे । कोण सभालाई सम्बोधन गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गणतन्त्रबादी नेताभन्दा राजाको स्थान उच्च भएको बताउँदै र्याल काढेर बस्ने नेताहरु फेरि प्रधानमन्त्रीको दाउमा बसेको बताए ।
सो अवसरमा राप्रपाका सह–महामन्त्री दिपक बोहराले निर्मल निवासमा रहेका राजा ज्ञानेन्द्र शाहलाई नारायणीहिटीमा लैजान अवको आन्दोलनले निर्णायक भूमिका खेल्ने धारणा राखे ।
शिव सेना नेपालका अध्यक्ष किशोर लामाले राज संस्थाका लागि जनता सडकमा आए गणतन्त्रबादी नेताहरु देश छाडेर भाग्नुपर्ने अवस्था सिर्जना हुने दावी गरे । सो अवसरमा राप्रपा बाँके उपाध्यक्ष बिन्दु चर्तीमगरले गणतन्त्रबादी नेताहरु भ्रष्ट भइसकेकोले राज संस्था फर्काउन देश ब्यापी आन्दोलनको खाँचो भएको बताइन् ।
Discussion about this post