रुपन्देही फागुन २० गते ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेकाका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुगेका थिए । निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताए ।
निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।“
उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गरे । “अहिले मलाई बडो खुसी लागेको छ’ उनले भने, “एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।“ यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
Discussion about this post