बाँके फागुन २१ गते ।
लुम्बिनीमा ५ सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाउने प्रव्रज्या कार्यक्रम सुरु गरिएको छ । मायादेवी मन्दिरस्थित पवित्र उद्यानमा संघनायक बोधीसेन महास्थविर र अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष धम्म शोभन महास्थविरले पहिलोपटक पहेँलो चीवर प्रदान गरेपछि उनीहरुलाई श्रामणेर प्रव्रज्यामा सहभागी गराइएको हो ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाको सहआयोजनामा मंगलबार कुलपुत्र प्रव्रज्या गराइएको हो । कार्यक्रममा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो पुण्यप्राप्ति गर्ने अवसर भएको बताउँदै शान्तिका लागि बुद्धको शिक्षा निक्कै उपयोगी रहेको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा र अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रव्रज्या कार्यक्रम राखिएको बताए । अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्नेछ ।
सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामी चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
Discussion about this post